कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

पुस १०, महोत्तरी

महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन्।

जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ अध्ययनरत विद्यार्थीटेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् ।

चिसोले तराईका कतिपय जिल्लाका विद्यालय बन्द भइसकेका छन् । तर महोत्तरीका सो विद्यायलका सयौँ बालबालिका भने टिनले छाएको छानोमा चिसो भुइँमा बसेर राज्यले खोजे जस्तै नागरिक बन्ने प्रयासमा निरन्तर अध्ययनमा लागेका छन् ।

सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।

आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिका ले बताएका छन् ।

चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षकको भनाइ छ ।

आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ