काठमाडौं, ७ पुस । कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय समिति बैठक बोलाउन दबाब दिएका छन् ।
कांग्रेसका युवा नेताहरुले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्नुपर्ने माग गर्दै आएका छन् । आगामी दिनमा महासमितिको बैठक आह्वान गर्न केन्द्रीय समिति बैठक आवश्यक रहेको भन्दै नेताहरु गगन थापा, चन्द्र भण्डारी, शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताले देउवालाई दबाब दिएका हुन् ।
पार्टीको संरचनालाई बलियो बनाउन ढिला भए पार्टी नै संकटमा पर्ने कांग्रेस नेता शेखर कोइराले बताए । त्यसैले पनि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने र नेतृत्वले सुध्रिने वा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने भन्नेमा युवा नेताहरुले आवाज उठाउँदै आएका छन् ।
निर्वाचनमा आएको मतपरिणामलाई लिएर कांग्रेसभित्र नेतृत्वको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भने राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशबारे विवाद टुंगिएपछि पार्टीभित्र निर्वाचनको मतपरिणामबारे छलफल गर्ने तयारीमा छन् ।
०००




