स्पेनको क्याटलोनियामा क्षेत्रीय संसद्का लागि भएको निर्वाचनमा क्याटलान पृथकतावादी पार्टीहरुलाई वहुमत | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

एजेन्सी, ७ पुष । स्पेनको क्याटलोनियामा नयाँ क्षेत्रीय संसद्का लागि भएको निर्वाचनमा क्याटलान पृथकतावादी पार्टीहरुले धेरैजसो सिट जितेका छन् ।

कुल १३५ सिटमध्ये पृथकतावादी पार्टीहरुले ७० सिट जितेका छन् । पृथकतावादी पार्टीहरुले वहुमत सिट जितेसँगै स्पेनको केन्द्र सरकारसँग थप मुठभेडको अवस्था आउनसक्ने आंकलन गरिएको छ । मत परिणामले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयलाई गम्भिर धक्का दिएको छ । यद्यपि, निर्वाचनमा क्याटलोनिया स्पेनको अर्ध स्वायत्त क्षेत्र होस् भन्ने चाहना राख्ने सिटिजन्स पार्टी सबैभन्दा ठूलो दल बनेको छ । सिटिजन्स पार्टीले २५ प्रतिशत भोट ल्याउँदै ३७ वटा सिट जितेको छ । उक्त पार्टीकी नेतृ इनिस अरिमाडसले आफ्नो पार्टीले गठबन्धन बनाउन कठिन हुने भएपनि प्रयास गर्ने बताउनुभयो ।

 

मड्रिड सरकारले क्याटलोनियाको स्वायत्तालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहलाई गैर संवैधानिक घोषणा गरेर निर्वाचनको आह्वान गरेको थियो । निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको छ । क्याटलन पृथकतावादी नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहरु निर्वाचनमा विजयी भएको बताउनुभएको छ । ब्रसेल्समा निर्वासनमा रहेका नेता पुज्डमोनले निर्वाचनमा क्याटलान नागरिकहरुको जित भएको र स्पेन सरकारको हार भएको बताउनुभयो ।