नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

काठमाडौं, २३ मंसिर ।

आमनिर्वाचन २०७९ को अन्तिम परिणामसँगै समानुपातिक बाँडफाँटमासमेत टुंगो लागेको छ । निर्वाचन आयोगको अन्तिम तथ्यांकअनुसार ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेका छ ।

नेकपा एमाले ४४ सिटसहित दोस्रो बन्दा समानुपातिकमा ३४ सिट पाएको छ । एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष १८ सिट जित्दा समानुपातिकमा १४ सिट पाएको छ । यस्तै प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा सिट पाउन सकेन ।

प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट जितेको छ । भने, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्दा समानुपातिकमा ७ सिट जितेको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षमा ७ सिट जितेकोमा समानुपातिकतर्फ ५ सिट पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले समानुपातिकमा ५ सिट जितेको छ । प्रत्यक्षमा केही सिट जितेका कतिपय दलले समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेनन् भने संसदमा कतिपय स्वतन्त्र सांसदको समेत प्रतिनिधित्व हुने भएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसक्दा पनि नयाँ सरकार गठनप्रति दलहरुमा खासै उत्साह देखिँदैन । सरकार गठनमा सत्ता गठबन्धन र एमाले विगतमा जस्तो उत्साहित नदेखिनुमा दलहरूको हीनता बोधले काम गरेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं बताउँछन् ।

दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता बहुमतका लागि निर्णायक पार्टीसँग वार्ता गर्नुको साटो जनमत पार्टी र नागरिक उन्मुक्ति लगायतका साना दलहरूलाई फकाइरहेका छन् । सोमबार मात्र सरकारले नागरिक उन्मुक्तिको माग सम्बोधनका लागि मुलुकी अपराध संहिता संशोधन गर्न राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि अध्यादेश पठाएको छ ।

आमनिर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्नु र दलहरुपतिको वितृष्णाको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई जानुले उनीहरूमा जाँगर नदेखिएको डा. चापागाईंको भनाइ छ ।

डा. चापागाईंले भने, ’विगतमा सरकार गठनका लागि सांसद खरिद बिक्रीदेखि सुरासुन्दरी काण्ड मच्चाउने दलहरु यस पटक हीनता बोध गरिरहेका छन् । दलहरुप्रतिको वितृष्णाको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसैले साथमा लिन खाजेको देखिँदैन । एक्ला एक्लै सरकार गठन गर्न कसैसँग बहुमत पुग्दैन ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको साइत कुरिरहेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि बार्गेनिङको दाउ कुरिरहेका कारण सरकार गठनका माहौल तात्न गाह्रो देखिएको उनले बताए ।

’यता नेकपा एमालेले पनि एक्लै बहुमत पु¥याउन नसक्ने र वाम गठबन्धनको सम्भावना न्यून रहेकाले यसबारे मुख खोल्न अप्ठ्यारो मानेको देखिन्छ । एमाले साना दलसँग लचक देखिए पनि रास्वपालाई साथमा लिएर सरकार गठनको पहल थाल्न अनुदार देखिन्छ,’ डा. चापागाईं भन्छन् ।

कसरी हुन्छ सरकार गठन ?

नयाँ सरकार गठनमा कांग्रेसको स्वाभाविक दाबी रहने देखिन्छ । यसअघि सत्ता गठबन्धनमा सामेल रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेतले आगामी सरकारमा समेत मिलेर जाने बताइरहेकाले यही गठबन्धनको सरकार बन्ने लगभग निश्चित देखिन्छ ।

निर्वाचनको अन्तिम परिणामसँगै नयाँ सरकार गठनका बारेमा समेत चर्चा चलिरहेका छन् । सम्भवतः अब नेपाली कांगेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।  तर, बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था रहेकामा कांग्रेसभित्र संसदीय दलको नेतृत्वको लागि देउवाबाहेकको दाबेदारीले केही तलमाथि हुन सक्ने सम्भावना पनि देख्न सकिन्छ ।

संविधानमा निर्वाचनको अन्तिम मतपरिणाम आएको ३५ दिनभित्र सरकार गठनको प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख व्यवस्था छ । संविधानको धारा ७६ को ८ मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);