प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

काठमाडौं। गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये  पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ।

आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् ।

महिलाकाे उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् । यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट चुनाव जित्नेहरुमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुली कुमारी महतो, भगवती चौधरी निर्वाचित भएका छन् । १८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एक जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् । सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।

कूल सात सिट जितेको रास्वपाबाट सोविता गौतम र  तोसिमा कार्कीले प्रत्यक्षमा चुनाव जितेका हुन् । यस्तै ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् ।

प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ । त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पुर्‍याउन सिफारिस गर्नेछन् ।

Leave a Reply