काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ ।
३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट ३२ मध्य तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका छन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महतको नाम फाइनल भएको बताइएको छ ।
समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिला मध्य आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती पनि परेका छन् ।
कांग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।
खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।
दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्।
यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।




