गुण्डाको डरले हैटीका प्रधानमन्त्री नै कार्यालय जान सकेनन् (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गुण्डाको डरले हैटीका प्रधानमन्त्री नै कार्यालय जान सकेनन् (भिडियोरिपोर्ट)

सन्दिप लामिछाने/माउण्टेन टेलिभिजन एचडी । के तपाईँ कल्पना गर्न सक्नुहुन्छ । विश्वमा यस्तो पनि देश छ जहाँ देशकै प्रधानमन्त्री शहरका सशस्त्र गुण्डाको डरले आफ्नो कार्यालय पनि जान नसक्दैन । अपहरण र फिरौती फैलँदो उद्योग बनेको छ । सशस्त्र समूहले बेफिक्री सर्वसाधारणलाई दुःख दिने गरेका छन् ।

क्यारेवियन मुलुक हेइटीको राजधानी पोर्टो प्रिन्समा हेर्दाखेरि सहरभित्र कुनै भौतिक सिमाना कोरिएको त देखिँदैन तर त्यहाँ आफू कहाँ र कुन परिधिमा छु भनेर बुझ्नै पर्छ । एकआपसमा लडाईँ गरिरहेका भिन्न भिन्न सशस्त्र गुण्डाका समूहहरूले आ–आफ्नो इलाका कोरेका छन् जहाँ तिनले बेफिक्री अपहरण, बलात्कार, तथा हत्याका शृङ्खला मच्चाइरहेका छन् । एउटा गुण्डा समूहको इलाकाबाट अर्कोमा जाँदा होस् गर्नुस् ज्यानै जान सक्छ । त्यसैले यहाँका बासिन्दाले मनमनै सहरको नक्सा बनाएका हुन्छन् जसमा त्यहाँका इलाकाहरू हरियो, पहेँलो वा रातो भनेर छुट्ट्याएको हुन्छ । हरियो भनेको सुरक्षित र गुण्डा नभएको क्षेत्र हो । पहेँलो भनेको आज सुरक्षित तर भोलि सम्भवतः खतरनाक हुनसक्छ । रातोमा त जानै भएन ।

सशस्त्र समूहको दबदबा बढ्दै गर्दा हरियो इलाका खुम्चँदैछ । पोर्टो प्रिन्स तथा छेउछाउका भूभागमध्ये आधाभन्दा धेरैमा सशस्त्र समूहहरूको नियन्त्रण रहेको त्यहाँका मानवअधिकार समूहहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् । पछिल्ला महिनाहरूमा सशस्त्र गुटहरूले मच्चाएको हिंसाका कारण त्यहाँ सयौँको ज्यान गएको छ भने हजारौँ घरबार छाडेर भाग्न वाध्य भएका छन् । गत वर्ष हेइटीका राष्ट्रपति जोभनल मोइजको हत्यापश्चात् त्यहाँ अशान्ति बढेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हेइटी ‘भिरको डिल’मा पुगेको छ । सहायता निकायहरूका अनुसार त्यहाको संसद् वरपरको क्षेत्र अनि राजधानी भित्रिने र बाहिरिने सडकमा सशस्त्र समूहको नियन्त्रण छ । साँझ बिहानको समयमा धेरै अपहरणका घटना हुन्छन् । औसतमा प्रतिदिन ५ वटा । प्रधानमन्त्री आरियल अनरीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुभएको छ । तर उहाँ स्वयं आफ्नो कार्यालय आउजाउ गर्न सकिरहनुभएको छैन । पछिल्लो राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर मारिएको थियो । आधा जनसङ्ख्या करिब ४७ लाख नागरिक भोकमरीमा परेका छन् । राजधानीमै २० हजार जति मानिस भोकमरीजस्तो अवस्थामा परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । तर सबभन्दा खतरनाक अवस्था भनेको सशस्त्र गुण्डाहरूको विस्तार नै हो । उनीहरूले नै यहाँको समय तय गरेका छन् । बिहानीको व्यस्त समय ६ बजेदेखि ९ बजेसम्म अपहरण अत्यधिक हुन्छ ।

त्यसपछि बेलुकी ३ बजेदेखि ६ बजेसम्म अर्को चरणका अपहरण हुन्छन् । अपहरण त फैलँदो उद्योग बनेको छ । राष्ट्रसङ्घका अनुसार ज्यानुअरी र अक्टोबरको बीचमा ११०७ जना अपहरणमा परेका थिए । कतिपय समूहका निम्ति अपहरण आयको मुख्य स्रोत बनेको छ । तिनले २ सय डलरदेखि १० लाख डलरसम्म फिरौती माग्छन् । फिरौती तिरेमा अधिकांश मानिस फिर्ता हुन्छन् तर तिनले धेरै यातना सहनु पर्छ । पुरुषहरूलाई कुटिन्छ र पग्लिएको प्लास्टिकले पोलिन्छ महिला तथा बालिकाहरूलाई सामूहिक बलात्कार गरिन्छ । त्यसैले आफन्तहरू जसरी भएपनि फिरौती तिर्नका निम्ति पैसा जुटाउन लाग्छन् । कहिलेकाहीँ अपहरणकारीहरूले आफन्तलाई फोन गरेर बलात्कार भइरहेको आवाज समेत सुनाइदिन्छन् । हेइटीको अवस्थालाई लिएर त्यहाँ गैर–राष्ट्रसङ्घीय सशस्त्र फौज परिचालन गर्ने हो कि भन्नेबारे राष्ट्रसङ्घभित्र चर्चा चलेको बताइन्छ । तर यसबारे अगुवाइ गर्न वा सहभागी हुन कसैमा हतारो देखिँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);