नेपाल आउँदै शबाना आजमी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

नेपाल आउँदै शबाना आजमी

काठमाडौं। भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । काठमाडौंमा आगामी ९ मंसिरबाट सुरु हुन लागेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको हो । सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यो महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टर क्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन् । मास्टर क्लास महोत्सवको दोस्रो दिन १० मंसिर साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै, अभिनेत्री शबानाले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् । भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

मण्डला थिएटरमा १७ मंसिरसम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Leave a Reply