हिउँका कारण उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिउँका कारण उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग

सुर्खेत। असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो । शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार ठूलो हेलिकोप्टरले १५ वटा उडान भरेमा मात्र कर्मचारीलाई पुर्‍याउन सकिन्छ । निर्वाचन आयोगलाई उपल्लो डोल्पामा जान र आउन भएको समस्याका विषयमा जानकारी गराइसकेको प्रजिअ अधिकारीले बताए। तिहारमा घर गएका कर्मचारी सदरमुकाममा पुग्ने क्रम जारी छ । डोल्पा सदरमुकामसम्म पुग्न जुफाल विमानस्थल र भेरी करिडोरको स्थलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । चीनको सिमानासँग जोडिएको उपल्लो डोल्पामा वर्षेनी हिमपातका कारण कात्तिकदेखि चैतसम्मा यहाँका सबै गतिविधि ठप्प हुने गर्छ ।  सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जान १० दिनसम्म लाग्ने गर्दछ। हिउँले ढाकिएका अग्ला पहाड छिचोल्नुपर्ने बाध्यता छ । चिसो मौसममा प्रहरी चौकीसमेत दुनै झारिन्छ । उपल्लो डोल्पामा रहेका ३० वटा मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको अधिकारीले बताए ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन् । डोल्पाको मतदाता संख्या २२ हजार सात सय ७४ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);