हिंसाका बाबजुद शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ईयु | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

हिंसाका बाबजुद शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ईयु

काठमाडौं, २३ मंसिर । युरोपियन युनियनले नेपालमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्ति, स्थायित्व र समृद्ध नेपालको पक्षमा मतदान गर्दै सम्पन्न भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियालाई विफल बनाउने उद्देश्यले गरिएका हिंसाका बाबजुद मतदाताहरुले अविचलित रुपमा मतदान गरेको पनि स्पष्ट पारेको छ ।

निर्वाचन पर्यवेक्षणमा खटिएको मिसन टोलीले निर्वाचन आयोगको काममा भने पारदर्शिताको उल्लेख्य अभाव देखिएको पनि जनाएको छ । मिसन प्रमुख जेल्याना जोभ्कोले अत्यन्तै छोटो समयमा निर्वाचनसम्बन्धि बन्दोबस्त मिलाउने कामहरु सफलतापूर्वक सम्पन्न भएपनि निर्वाचन आयोगको काममा पारदर्शिताको अभाव देखिएको पाइएको उल्लेख गरेको छ ।

मिसनले निर्वाचनसम्बन्धि कार्यमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मी समेत करिव ५ लाख मानिसहरुलाई मतदान गर्ने अवसरबाट बञ्चित गरेर निर्वाचनका क्रममा मतदानको अधिकार ठूलो मात्रामा सिमित गरिएको जनाएको छ ।

निर्वाचनमा मतदाता शिक्षा पर्याप्त नरहेको पनि मिसनको भनाई छ । मिसनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको थियो । पर्यवेक्षणका क्रममा ८९ प्रतिशत मतदान केन्द्रहरुमा मतदान कार्य संचालन राम्रो भएको पनि मिसनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।