काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले अनर्गल प्रचारबाजी गरेर कुनै पनि राजनीतिक दल वा नेताले जनतालाई प्रभावित पार्न नसक्ने बताएका छन् ।
नेता निधीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जथाभावी बोल्दैमा जनता प्रभावित नहुने बताए । नेपाली कांग्रेसले शालिन राजनीति गर्ने भन्दै उनले त्यही मार्फत सभ्य समाजको निर्माण गरी देशको सम्मुनत विकास र सम्वृद्धिको योजना बनाउने बताए ।
उनले वामगठबन्धनका शीर्ष नेताले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दे कसैले छाडा बोल्दैमा जनता प्रभावित नहुने टिप्पणी गरेका हुन् ।
नेता निधीले २००७ सालको क्रान्ति देखि संविधानसभाको निर्वाचन र संविधान जारी गर्ने समय सम्म राजनीतिक परिर्वतनका लागि भएका जति पनि आन्दोलन छन् ती सबैमा नेपाली कांग्रेसले परिणामदायिक नेतृत्व वहन गर्दै आएको उनले दाबी गरे ।
प्रतिपक्षी दलका नेताहरुले विभिन्न सभामा दिएका अभिव्यक्ति प्रति लक्षित गर्दै नेता निधिले उखान टुक्का र घम्सा घम्सीले मात्रै कुनै पनि दलको ल्याकतको परिक्षण नहुने बताए ।
केही दिन पहिले विरामी भएर उपचार गराएका नेता निधीले आफु बुधबार देखि नै निर्वाचनमा लाग्ने जानकारी दिए । कांग्रेस नेता निधी प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् ।




