काठमाडौं।नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ।बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ।संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्ष भएको जनाइएको छ । ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो।
न्यूज २४ टेलिभिजनले मंगलबार अडियो सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो । अडियोमा १० करोड धरौटीमा तामाङलाई धरौटीमा छाड्ने र त्यसबापत दुई लाख लिने प्रस्ताव अधिवक्ता पोखरेलले गरेको सुन्न सकिन्छ।