काठमाडौं । मधेसी मोर्चाको विरोधका बीच सरकारले आज स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ ।
सरकारले वैशाख अन्त्यमा देशभर एकै चरणमा चुनाव गर्ने तयारी गरेको छ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीको बैठकमा सोमबार स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो ।
त्यस अनुसार आइतबार नै निर्वाचन आयोग र मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल भएको छ । अब कुनै ठूलो राजनीतिक घटनाक्रम नभए आज साँझ मन्त्रिपरिषद् बैटकले चुनावको मिति घोषणा गर्नेछ । आइतबार साँझ अबेर बालुवाटारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव घोषणा लगतै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको थियो ।
उहाँले स्थानीय तहको संख्या बढाउने र प्रदेशको सीमांकन हेरफेरका लागि आयोग पनि गठन गर्ने बाचा गर्नुभएको छ । बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई चुनाव घोषणा नगर्न भनेका छन् ।
यसो गरे आफूहरु अफ्ठ्यारोमा पर्ने मधेसी मोर्चाका नेताहरुको भनाइ थियो । बालुवाटार जानु अघि बसेको मधेसी मोर्चाको बैठकले पनि संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्नु पर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।