अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ 

मकवानपुर। अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीका अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको झोलाबाट नगद ५८ हजार ५०० रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुबा नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);