दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र

खोटाङ । १३ जेठ २०५८ मा लाउडा विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर एमाले र जनमोर्चाका नेता तथा कार्यकर्ताले दिक्तेलमा मसाल जुलुस निकाले । जुलुसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छाका प्रताप राई पनि सहभागी थिए ।

दिक्तेल बजारको त्रिबेणीचोक र हाटडाँडाको बीच बाटैमा पर्छ । लाउडा प्रकरणविरुद्ध उतारिएको मसाल जुलुस त्रिवेणीचोक, जिल्ला प्रहरी कार्यालय अगाडि हुँदै हाटडाँडा पुगेर पुःन त्रिवेणीचोकतर्फ फर्कँदै थियो । जिल्ला प्रहरी कार्यालय अगाडि आइपुगेको जुलुसमाथि प्रहरीले अन्धाधुन्ध गोली चलायो । मसाल जुलुस छिनभरमै तितरवितर भए । ज्यान जोगाउन सबैको भागाभाग भयो ।

अन्धाधुन्ध चलाएको गोलीले लाग्दा दिपनारायण, दिपेन्द्र, विद्यामनी र प्रताप राई घाइते भए । दिपेन्द्रको दुवै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लाग्याे । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । दिपनारायणको खुट्टामा पनि गोलीका डोव देखिन्छ ।

घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । त्यसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । घाइतेमध्ये दिपनारायण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर हुन् । प्रतापको मृत्यु भइसकेको छ । लाउडा बिमान खरिद प्रकरणमा भएको अनियमितताविरुद्ध विरोधमा उत्रिएको जुलुसमाथि गोली चलाइएको त्यही घट्नालाई जिल्लामा दिक्तेल गोलीकाण्डका रूपमा चिन्ने गरिन्छ ।

दिपेन्द्र उपचारका क्रममा ३६ दिन अस्पतालमा बेड भर्ना भए । उपचारकै लागि ६ महिना काठमाडाैं बसे । चोट निको हुन तीन वर्षसम्म अस्पताल धाएर फलोअप र चेकअप गर्नु पर्‍यो । दिपनारायण पनि काठमाडाैमा तीन महिना उपचारमा बसे र निको भएर फर्किएका थिए ।

दिपनारायण र दिपेन्द्रले हरेक वर्षको १३ जेठमा आफू घाइते भएको तस्बिर सामाजिक सञ्जालमा राखेर घट्नाको सम्झना गर्दै न्यायोचित छानबिन नभएको बताउने गरेका छन् । लाउडा प्रकरणमा भएको अनियमितताविरुद्ध आवाज उठाउने क्रममा गोली खाइए पनि दोषीलाई कारबाही नभएकोमा घाइतेहरू असन्तुष्ट छन् । ‘हामीले देश र जनताकै लागि लडेको हो । तर न दोषीलाई कारबाही भयो, न राज्यले हामीलाई क्षतिपूर्ति दियो,’ दिपेन्द्रले भने, ‘पार्टीले पनि हामीजस्तालाई नै अन्याय गरेको छ । अवसर वा लाभका पदमा हामीलाई बिर्सने काम भएको छ ।’

लाउडा प्रकरणमा संलग्न दोषीमाथि कारबाही माग गर्दै आवाज उठाइए, गोली थापिए तर सो प्रकरण क्रमशः सेलाउँदै गयाे । त्यही प्रकरणबाट शरीरभरि गोलीका डोव बोकेर हिँडिरहँदा घाइतेलाई सन्तुष्टि मिल्ने वा गर्व गर्ने ठाउँ प्राप्त नभएको दिपनारायण बताउँछन् । लाउडा प्रकरणका घाइतेलाई माओवादी केन्द्रले २३औं जनयुद्ध दिवसको अवसर पारेर १ फागुन ०७४ मा सम्मान गरेको थियो । त्यो सम्मानबाहेक घाइतेले केही पाएका छैनन् ।

Leave a Reply