लमजुङ । गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटेजस्ता शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितिअनुसार असिना बार्ने, बिउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको स्थानीय ईश्वर गुरुङले बताए ।
लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडाे बनाउँदै उनलाई सुन्न थाल्छन् । चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सूचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल हुन् । गाउँका बासिन्दालाई सामूहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था छ । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र आफूले चार वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताए ।
घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पु¥याउने गर्दछन् । गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाई छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पु¥याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भनाई छ ।
कटुवाल कराए बापत् उनले गाउँलेहरुबाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन् ।
क्व्होलासोथर मात्रै नभई जिल्लाको सुन्दरबजार, राईनास नगरपालिका, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका ७५ वडामध्येका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था छ ।