रक्षा उपाध्याय ।
४ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न योग्य रकम तरलताको अभावसंगै बैंकले कर्जामा व्याज बढाउदा साना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी मारमा परेका छन् ।
तरलताको अभाव देखाई बैंक तथा वित्तीय संस्थाले थप लगानी गर्न नसक्दा झनै साना व्यवसायी मारमा परेका हुन । साना व्यवसाय भए पनि कारोवार बैंकसंगै गर्ने भएकाले पनि समस्या भएको व्यवसायीको भनाई छ । यहि अवस्था रहिरहने हो भने चल्दै आएको उद्योग र व्यवसाय पनि चौपट हुनेछन ।
केहि महिनादेखि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अभाव देखाउँदै ऋण प्रवाहमा कडाई गरेका छन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि कर्जाको ब्याजदरमा सामान्य वृद्धि गरेपनि बैंक तथा वित्तीय संस्थाले अहिले कर्जामा लगानी गर्न बन्द गरेका छन । बैंकहरूले निक्षेप बढाउने अभिप्रायले बचतमा ब्याज बढाएपनि त्यो व्यवसायीकोे हितमा देखिएको छैन ।
नेपाल बैंकर्स संघले कर्जामा व्याजदर नबढाउने भने पनि तरलताको अभावको नाममा चालु आर्थिक वर्षको दोस्रो अर्ध वार्षिकदेखि लागू हुनेगरी यसअघिको सम्पूर्ण पुराना कर्जामा दोब्बर भन्दा बढी ब्याजदरको घोषणा गरेका छन् ।
बैंक तथा वित्तिय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंकले तरलताको अभाव केहि दिन भित्र सहज हुने बताईरहँदा हालै बढाइएको कर्जाको ब्याजदरलाई पनि छिटै पहिलैकै अवस्थामा लैजानुपर्ने व्यवसायीहरुको सुझाव छ ।