भक्तपुर, ५ मंसिर । भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ । ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ ।
बिजुक्छेले अन्य कुनै क्षेत्रबाट उम्मेदवारी दिन यो क्षेत्र छाडेका भने होइनन् । युवा पुस्तालाई अवसर दिन उनले यस्तो निर्णय गरे । उनको यो निर्णयको चौतर्फी प्रशंसा भइरहेको छ । नेमकिपाले पार्टी सचिव प्रेम सुवाललाई यस क्षेत्रको प्रतिस्पर्धामा उभ्याएको छ । बिजुक्छे प्रत्यक्षमा भिड्दा समानुपातिक सूचीमा राखिने सुवाल अहिले पार्टी अध्यक्षको विरासत जोगाउन लागिपरेका छन्।
विजुक्छे आफैं मैदानमा नआएपछि भक्तपुर १ मा नेमकिपा विरासत जोगाउने चुनौतीको सामना गर्दैछ भने वाम गठबन्धन र कांग्रेसका उम्मेदवार उनको किल्ला भत्काउने दाउमा सक्रिय छन् । उनी आइतबार बिहान सात बजे दुवाकोटको चोटा बैठक पुगिसकेका थिए, आठ बजे ८० जना बाद्य बादकको भेलामा ।
दुबै भेला सकेर पार्टी कार्यालय आउँदा साढे १० बजे भइसकेको थियो । सुवालको भेला चलिरहँदा बाम गठबन्धनका उम्मेदवार मिलन सुवाल भक्तपुर नगरको दुधपाटी, नासमना क्षेत्रको घरदैलोमा थिए । नेमकिपाका कडा प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बाबुराजा जोशी पनि बिहानै घरदैलामा सुडाल पुगिसकेका थिए । घरदैलोबाट भक्तपुर नगर फर्कंदा दिउँसो साढे एक भइसकेको थियो ।
कांग्रेस र बाम गठबन्धन बिहान र दिउँसो काँठमा भोट माग्न गए पनि राति भने नगरमा कोठेभेलामा सबै दल जुट्छन् । नेमकिपा गाउँको भोट तान्न जोडबलले लागेको छ भने अन्य दल नगरको । बाम गठबन्धन र कांग्रेसका उम्मेदवार गलाभरि माला लगाएर घरदैलोमा निस्कने गरेका छन् भने नेमकिपाका उम्मेदवार भने खादासमेत लगाउँदैनन् । उनीहरु जितपछि मात्रै माला लगाउने बताउँछन्। – कान्तिपुर दैनिकबाट