गोठका सुँगुर 'मरे'पछि डोम परिवारको बिल्लीवाठ  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गोठका सुँगुर ‘मरे’पछि डोम परिवारको बिल्लीवाठ 

सिरहा । सिरहा सुखीपुर नगरपालिका–१० बल्ही विश्वकर्मा चोकका ५० वर्षीय गणपैत मरिक (डोम)को दुई रात भयो राम्रोसँग निदाउन सकेका छैनन् । घरमा पालेका चार वटा सुँगुर एकै पटक मरेको फेला परेपछि उनको निन्द्रा हराएको छ । शुक्रबार रातिसम्म सद्दे रहेका सँगुरहरू शनिबार विहान मृत परेपछि उनी कहाँ जाने कसलाई सुनाउने भनेर अन्योलमा परेका छन् ।

उनले ती सुँगुरहरूलाई विष खुवाएर मारेको दावी गरिरहेका छन् । मरेका माउ सुँगुर मात्रैको अहिलेको बजारभाउमा दुई लाखभन्दा बढी रहेको मरिकले बताए । उनले भने, ‘तिनका २५ वटा दुधे बच्चा छन्, माउ नै मरेपछि ती बच्चाहरु पनि बाच्दैनन् ।’

यिनै सुँगुर बेचेर नातिनी विवाह गर्ने र ऋण तिरोभरो गर्ने योजनामा थिए मरिक । उनी भन्छन्, ‘सबै योजनामाथि तुषारापात भयो ।’ मरिककी श्रीमती सुमित्रादेवीका अनुसार उनीहरूको मुख्य आयस्रोत नै सँुगुरपालन हो । सबै सुँगुर मरेको देखेपछि भोक प्यास नै हराएको उनले दुखेसो गरिन । मरेकामध्ये एउटा आजभोलि ब्याउने र अर्को पनि गर्भीणी रहेको मरिकले बताए । बाँचेको एउटा पोथी र एउटा भाले सुँगुर पनि बिरामी छन् । 

गोलबजार नगरपालिका–१३ डङ्ग्राहाबाट करिब नौ वर्षअघि मरिकको परिवार यहाँ बसाई सरेको थियो । उनीहरु गागन खोला किनारको ऐलानी जमिनमा बस्दै आएका छन् । उनीहरूले एउटा भालेसहित पाँचवटा माउ सुँगुर पाल्दै आएका थिए । 

उनीहरूले सुँगुरलाई विष खुवाएरै मारेको दावी गरेका छन् । मरिक परिवार सुँगुर मर्नुको कारण पत्ता लगाएर घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् । 

आइतबार भेटेरनरी प्राविधिकले पोष्टमार्टम गरेकाले त्यसको रिपोर्ट आएपछि घटना बारे एकिन भन्न सकिने कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले पोष्टमार्टम रिर्पोटपछि मृत्युबारे थप खुल्ने बताए । उनले घटना प्रकृति मुचुल्का बनिसकेको र अनुशन्धान भइरहेको जनाए छ । 

मरिक यहाँ बस्न थालेपछि मात्रै बस्ती विस्तार भएको हो । अहिले त्यही बस्तीले उनलाई अन्यत्र जान दबाब दिने गरेको छ । उनले भने, ‘सानो जातको भन्छन् । हाम्रो घर अगाडि सुँगुर पाल्न पाईदैन अन्तै जाउ भन्छन् ।’ मरिक सानो दुई वटा छाप्रोमा दुई छोरा, दुई बुहारी, नातानातिनासहित १४ जना बस्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);