प्रोजेक्ट मेकिङः सात वर्षमा तयार भयो ‘चिसो एस्ट्रे’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रोजेक्ट मेकिङः सात वर्षमा तयार भयो ‘चिसो एस्ट्रे’

काठमाडौं । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय महेशबाबु तिमल्सिना नेपाली फिल्मका राम्रा दर्शक पनि हुन् । अस्ट्रेलियामा बसोबास गर्ने महेश त्यहाँ शो हुने नेपाली फिल्महरू भ्यायसम्म हेर्ने गर्छन् ।

कोरोना भाइरस महामारी अगाडिको अवस्थालाई सम्झिने हो भने अस्ट्रेलिया नेपाली फिल्मको राम्रो बजार हो । नेपालमा हाइप भएका फिल्मले त्यहाँ राइट्स बेचेबापत झन्डै ३० देखि ५० लाखसम्म पाउने गरेका छन् । त्यसैले गर्दा पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू फिल्म लगानीमा समेत जोडिने गरेका छन् ।

फिल्म हेरिरहँदा आफूले खोजेको कथा नपाएपछि महेशले पनि फिल्म निर्माण गर्ने सोच बनाए । नेपाली फिल्ममा युवाको कथालाई देखाउने सोचका साथ उनले निर्देशक दिनेश पाल्पालीसँगको सहकार्यमा तयार पारेको ‘चिसो एस्ट्रे’ आउँदो ४ चैतमा प्रदर्शन हँुदैछ । सुन्दा नाम फरक लाग्ने फिल्ममा सहरमा अल्मलिएको जीवनलाई चुरोट निभाउने एस्ट्रेसँग विम्बात्मक रूपमा जोडिएको छ ।

तर, यो फिल्म सहजै हलमा आउन लागेको भने होइन । यो फिल्म तयार हुन सात वर्ष लागेको छ । ‘२०७२ सालमा फिल्म छायांकनमा जाने तयारीमा थियो । हामीले जेठको पहिलो साताबाट छायांकन गर्ने तयारीका साथ योजना बनाइरहेका थियौं । तर, वैशाखमा आएको भूकम्पले योजना विफल बनायो,’ महेशले प्रोजेक्ट मेकिङ सुनाए । 

भूकम्पका कारण रोकिएको छायांकन त्यस वर्ष भएन । त्यो अगाडि पनि स्क्रिप्टमा धेरै मिहिनेत गरिएको थियो । भूपि शेरचनको कविताबाट प्रभावित भएर स्क्रिप्ट बनाएका निर्देशक दिनेशले यसलाई फाइनल गर्दासम्म ११ पटक रि-राइट गरिसकेका थिए । ‘नेपाली फिल्ममा साहित्यलाई पर्दामा उतारेका उदाहरण निकै कम छन् । मैले पनि स्क्रिप्ट पढेपछि यसलाई पर्दामा उतार्न सक्नु हुन्छ भन्ने प्रश्न गरेकी थिए । निर्देशकले सुनाउनु भएको आइडियामा म कन्भिन्स भएँ र त्यो स्क्रिप्टलाई फिल्मको स्वरूप दिन तयार भए,’ महेशले भने ।

भूकम्पका कारण रोकिएको छायांकन विविध कारणले सन् २०१७ मा मात्र सुरु भयो । एक सय २३ दिन लगाएर फिल्मको छायांकन गरियो । निर्माता महेशले फिल्ममा दुई वर्षको यामलाई कैद गरिएको बताए । प्रोजेक्ट मेकिङबारे उनले भने, ‘हामीले फिल्ममा जाडो, गर्मी सबै नेचुरल लागोस् भनेर नै दुई वर्षको समय लगाएर खिचेका हौँ । यहाँ देखिएको जाडो र परेको पानी नेचुरल नै छन् ।’

फिल्म अघिल्लो वर्ष नै रिलिज गर्ने तयारी गरिएको थियो । यद्यपि कोरोना भाइरसको महामारीका लहरहरूले गर्दा त्यो सम्भव भएन । ‘हामीले एउटा लेखिएको कथालाई पर्दामा विना सम्झौता उतार्ने कोसिस गरेका छौँ । फिल्मले हाम्रै काठमाडौंको कथा भन्छ । सात वर्षको मिहिनेत आउँदो ४ चैतमा हलमा पुग्दैछ,’ महेशले भने । केही दिन दिन अगाडि मात्र सार्वजनिक भएको ट्रेलरले पाएको प्रतिक्रियाले उनी फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त छन् ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रवीन तामाङको मुख्य भूमिका छ । निर्देशक पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);