विदेशमा पनि फिल्म ‘महापुरुष’ काे रेगुलर शो, महँगोमा भो बिक्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

विदेशमा पनि फिल्म ‘महापुरुष’ काे रेगुलर शो, महँगोमा भो बिक्री

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफासमेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म आउना साथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन् । यस्तै फिल्ममध्येको एक हो, ‘महापुरुष’ ।

जात्रा र जात्रैजात्राको सफलतापश्चात कलाकार रवीन्द्रसिंह बानिया र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ नेपालसँगै विदेशमा पनि प्रदर्शनमा आउँदैछ । फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, दक्षिण कोरिया, मिडल इस्टका देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
यसलाई अस्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गर्दैछ । यस्तै, अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गर्दैछ । यीबाहेक अन्य देशको जानकारी पनि छिट्टै दिने निर्माण पक्षले जनाएको छ ।

अस्ट्रेलियामा शो गर्न लागेको एमएसएम इभेन्ट्सले नेपाली फिल्मलाई वजार विस्तारमा काम गरिरहेको जनाएको छ । एमएसएमले अस्ट्रेलियाका विभिन्न प्रान्तमा शो आयोजना हुन् सक्ने र एकै सर्भरमार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ । यसले निकट भविष्यमा अस्ट्रेलियामा कहाँ कति शो भयो र शोमा कति दर्शक उपस्थित भए भन्ने तथ्यलाई विश्वभर पारदर्शी बनाउँछ ।

एमएसएम इभेन्ट्सलाई पाँच सदस्य मिलेर सञ्चालनमा ल्याएका छन् । प्रदीप भट्टराई निर्देशित पछिल्लो फिल्महरूको अस्ट्रेलियाको व्यापारलाई हेरेर नै ‘महापुरुष’ महँगोमा राइट्स लिएको जनाएको छ । ‘हामीले यहाँ दर्शकको डिमान्डलाई मध्यनजर गर्दै फिल्मको राइट्स लिएका हौँ । उहाँहरूको पछिल्लो फिल्महरूले दर्शकलाई निराश बनाएका छैनन् । यसैले गर्दा नेपालसँगै सोही डेटमा अस्ट्रेलियाका विभिन्न सहरहरूमा फिल्म दर्शकले हेर्न पाउनु हुनेछ । हामी रेगुलर रिलिज नै हलमा गर्दैछौँ,’ एमएसएमका एक प्रतिनिधिले भने ।

एमएसएम इभेन्ट्सझैँ अमेरिकाको विभिन्न सहरहरूमा शो आयोजना गर्न लागेका नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले दर्शकको विश्वास प्रदीप र रवीन्द्रले जितेको बताए । ‘हामीले यहाँ विभिन्न शोहरू आयोजना गरिसकेका छौँ । उहाँहरूको फिल्मले दर्शकलाई कहिले निराश बनाएको छैन । त्यसैले हामीले राइट्स ढुक्क भएर खरिद गरेका हौँ,’ सुवेदीले भने । उनले मोमो इन्टरटेनमेन्टका विपीन थकालीसँग मिलेर अमेरिकासँगै क्यानाडामा शो गरिरहेका छन् । त्यहाँ दर्शकलाई नेपालझैँ रेगुलर शोमा फिल्म देखाउने काम उनले गरिरहेका छन् ।

‘हामीले शो समय रेगुलरमै राख्यौं भने दर्शकले समयअनुसार शो पाउनु हुन्छ । यसले दर्शकले शोकै टाइममा आफ्नो काम छाडेर फिल्म हेर्न आउनुपर्ने बाध्यता हँुदैन । हामी नेपालमा एउटा थियटरमा पाउने शोकै संख्यामा यहाँ पनि निकाल्छौँ,’ उनले भने । उनले अमेरिकाको नेपालीहरूको बाहुल्यता रहेको स्टेटहरूमा फिल्म ‘महापुरुष’लाई रेगुलर शोमै हेर्न पाइने बताए ।

रेगुलर शोमा दर्शकले फिल्म हेर्न पाउन आफूहरूले सहकार्य गरेको निर्माता रवीन्द्रले बताए । ‘जसरी फिल्म देखाउने शैली कम्युनिटी हलबाट फिल्म हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै फिल्म देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले फिल्म अन्य विदेशी फिल्मझैँ आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ,’ निर्माता बानियाँले भने ।

अमेरिकामा नेपाल रिलिजकै दिन ३० शो हाराहारीमा रेगुलर शोमा विदेशी फिल्मझैँ हेर्न पाउने सुवेदीले बताए । अस्ट्रेलियामा शो गर्ने एमएसएमले पनि पारदर्शी रुपमा शो आयोजना गर्दै नेपाली फिल्मको बजार विस्तारका लागि फिल्म रेगुलर शोमै देखाउन लागिएको जनाएको छ ।

फिल्म अहिलेसम्मकै महँगो राइट्समा विदेश बिक्री भएको छ।  फिल्म अस्ट्रेलिया र युएसएमा एक करोडमा राइट्स बिक्री भएको हो । अस्ट्रेलिया राइट्स ५० लाख र युएसए राइट्स ५० लाखमा फिल्म बिक्री भएको हो ।

रवीन्द्र निर्मित टल्क जंग भर्सेस टुल्के, पशुपति प्रसाद, जात्रा, जात्रै जात्रा र निर्देशक भट्टराई निर्देशित जात्रा, शत्रु गते र जात्रै जात्राले विदेशमा गरेको व्यापार, दर्शकको प्रतिक्रियाको आधारमा फिल्म निर्माण हुने घोषणा भएसँगै फिल्मको विदेशमा राइट्स सोल्ड भएका हुन् । मेकर्सले दर्शकमाझ विश्वास बनाउन सके लगानीमा समेत यसले फाइदा गर्ने निर्माता तथा कलाकार बानियाँले बताए ।

‘हाम्रो पछिल्लो फिल्मले गरेको व्यापार, दर्शकले दिएको मायाले नै होला हामीमाथि विश्वास गर्नु भएको छ । फिल्म बन्ने घोषणा भएदेखि नै विदेश राइट्सको कुरा भइरहे पनि हामीले फिल्मलाई राम्रोसँग रिलिज गर्ने वातावरण बन्ने गरी विदेश प्रदर्शनको अधिकार दिएका छौँ । हामी नेपाली फिल्मको बजार विस्तारमा टेवा पुग्ने किसिमले सहकार्य गर्न तत्पर छौँ,’ बानियाँले भने ।

रवीन्द्रले पछिल्लो समय तीन महिनाको समय तोकेर विदेशमा राइट्स बिक्री गर्ने गरिएको बताए । ‘ओटीटीका माध्यममा फिल्म आउन सक्ने भएकाले पनि सेम डेटमा फिल्म हाल्दा फाइदा हुन्छ । साथै नेपालको पब्ल्सिटीले पनि सपोर्ट गरिरहेको हुन्छ । यहाँ हामीले गरिरहेको गतिविधि विश्वभरका नेपालीमाझ पुगिरहेको हुन्छ । त्यसैले एकै डेटमा फिल्म नेपालसँगै विदेशमा रिलिज हुँदा यसले दुवै पक्षलाई फाइदा पुर्याउँछ,’ उनले भने ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण, हरिवंश र रवीन्द्रसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरुष’ मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग्य गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन् ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मकाचारै गीतनवराज पराजुलीले लेखेको र संगीतऋदम कँडेलको रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);