८ मार्च : कथित बाेक्सी आराेपी जगमती भन्छिन्- न्याय माग्न कहाँ जाउँ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

८ मार्च : कथित बाेक्सी आराेपी जगमती भन्छिन्- न्याय माग्न कहाँ जाउँ ?

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ । आफ्नै छिमेकी रामजनम यादवको परिवारले आफ्नो दुई वर्षे छोराले खाना खान छोडेका भन्दै जगमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । तर, उनी आफू झनै कुटपिटमा परिने डरले कुनै प्रतिवाद गरिनन् ।

‘मैले प्रतिवाद गरेको भए ममाथि परिवारै मिलेर कुटपिट गर्थे, त्यसले मैले कुनै किसिमको प्रतिवाद गरिन,’ उनी भन्छिन् । बरु उनले एकोहोरो बोक्सी भनेर गाली गरेको सुन्नुभन्दा घरभित्र पसिन् ढोकाको चुकुल लगाइन् । त्यसपछि छिमेकीले जगमतिको आँगनमा तील, मास, चामल छर्कनुको साथै कालो लुगा राखेर गए ।

उनी त्यसदिन निकै डराइन्, छिमेकी गुहार्न पनि सकिनन् । तर, भोलिपल्ट आफूमाथिको आरोप लगाउनेलाई त्यसै छोड्नु हुँदैन भनेर छरछिमेक गुहार्न पुगिन् । जगमतीले न्याय समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रियका सिंहसँग आफूमाथि बोक्सीको आरोपमा भएको दुर्व्यवहार सुनाइन् । उनले भनेको कुरा उपाध्यक्ष सिंहका पति पवन सिंह र ससुरा राजकुमार सिंहले समेत सुने । 

पीडितका कुरा सुने पनि उनीहरूले पीडकलाई कारबाही गर्नुको साटो जगमतीलाई नै गाउँ समाजमा मिलेर बस्न सल्लाह दिए । तर, जगमतीको चित्त बुझेन । जगमती अर्को दिन गाउँपालिकाको कार्यालयमै पुगिन् । उजुरी दिन गएकी जगमतीलाई सानो कुरामा चित्त नदुखाउ भनेर फिर्ता पठाइयो ।

गाउँपालिका उपाध्यक्ष प्रियंका सिंहले गाउँघरमा यस्ता सानातिना घटना भइरहने बताएकाे सुनाउँदै जगमतीले उपाध्यक्षकाे स्मरण गर्दै भनिन् , ‘यो सामान्य झगडा हो, यस्ता घटना गाउँघरतिर भई नै रहन्छन्, सानातिना घटनालाई लिएर कारबाही गर्ने कुरा भएन ।’ 

पीडकमाथि कानुनी कारबाही नभएपछि छिमेकीले जगमतीलाई बोक्सीको आरोप लगाउन छाडेका छैनन् । ‘अझै पनि मलाई बोक्सीको आरोप लगाउने गरिएको छ, गाउँ टोलमा कोही बिरामी परे पनि मलाई नै दोष लगाउने गरिन्छ, न्याय माग्न म कहाँ जाने ?,’ जगमती भन्छिन् ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा प्रायः महिलाहरुलाई बोक्सीको आरोपमा कुटपिट गर्ने, दुर्व्यवहार गर्ने प्रवृत्ति अहिले पनि ब्याप्त छ । गाउँपालिकामा उजुरी गर्न जाँदा पनि कारबाही नभएका धेरै घटना छन् । दक्षिणी क्षेत्रमा पर्ने रूपन्देहीकै कोटहीमाई गाउँपालिकामा यस वर्ष बोक्सी आरोपमा दुर्व्यवहार भएका तीनवटा उजुरी आए । तर, गाउँपालिकाले ती उजुरीलाई गाली बेइज्जती शीर्षकमा दर्ता गरी मेलमिलाप गरेर पठाएको छ । गाउँपालिकाकी उपाध्यक्ष भानुमती बानियाँले बोक्सीको आरोपमा उजुरी लिएर आउने क्रम दिनहुँ भइरहने भन्दै आफूहरूले सम्झाएर पठाउने गरेको बताइन् ।

स्थानीय तहलाई बोक्सी कसुरमा मुद्दा हेर्ने अधिकार कानुनले दिएको छैन । तर, स्थानीय तहले यसका लागि प्रहरीकहाँ जान सहजीकरण गर्नुपर्नेमा उल्टै मेलमिलाप गरेर पठाउने गरेका छन् । जसले गर्दा यो क्रम हटेको छैन । बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा यातना दिनु फौजदारी कसूर मानिन्छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार पीडितले सुरूमा प्रहरी कार्यालयमा उजुरी गर्न सक्छन् । 

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा बोक्सी आरोपमा कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरेर आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पदमा रहेको व्यक्तिले कसूर गरेमा पच्चीस प्रतिशतभन्दा बढी सजाय हुने व्यवस्था समेत ऐनमा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);