जुम्ला । गर्भावस्था एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्नु पर्छ भन्दै तिला गाउँपालिकाकाले गर्भवती महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोच चिन्तन आवश्यक हुने भन्दै गर्भवती महिलासँग उपाअध्यक्ष कार्यक्रममार्फत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
यो अवस्थामा यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवती र उनीहरूका श्रीमानसँग अन्तरक्रिया गरिएको तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ यौगीले बताए । उनले भने, ‘कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने ? के गर्ने ? के नगर्नेजस्ता कुराको बारेमा जानकरी दिनका लागि पालिकाले धेरै महिलामुखी कार्याक्रम ल्याएको बताए । उनले भने, ‘गर्भावस्थामा आमाले ध्यान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले कुपोषणमुक्त गाउँपालिका बनाउनका लागि यस्ता खालका कार्यक्रम लागु गरिएको हाे ।’
त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भनिन् , गर्भावस्थामा कुनै पनि भार उठाउन हुँदैन । ताजा र पौष्टिक खानेकुरा सेवन गरौँ । जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् । स्थानीय स्तरमा उत्पादित सागपात दुध, माछामासु गेडागुडी जस्ता झोलिलो पदार्थ सामेल गरौँ । हामीले पहिलो चरणमा पोषिलो खानेकुरा वितरण गरेका थियौँ । तर, सरकारले सधैँभरि दिएर हुँदैन । महिला आफैँ सचेत हुनुपर्छ ।’
स्वास्थ्यकर्मी नेत्रबहादुर खत्रीले दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुपर्ने बताए । गर्भावस्थाको समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा रहन नहुने बताएका उनले चिकित्सककाे सल्लाहविना औषधि सेवन नगर्ने, खानेकुरामा प्रोटिन क्याल्सियम कार्बोहाइड्रेट, ताजा फल खानु पर्ने बताए । आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने उनकाे भनाइ छ । स्वास्थ्यकर्मी खत्रीले गर्भाधारणका लागि महिलाको उमेर २१ वर्ष नाघेपछि राम्राे हुने बताउँछन् ।