उच्च गोलकर्ताको दौडमा फ्रेन्ड्सका फ्रान्कोइस् अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

उच्च गोलकर्ताको दौडमा फ्रेन्ड्सका फ्रान्कोइस् अगाडि

काठमाडौं । पछिल्लो खेलमा च्यासल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै शीर्ष डिभिजन लिगको हैसियत कायम राखेको फ्रेन्ड्स क्लबका फरवार्ड जामोउल एन्थोनी फ्रान्कोइस्  जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा  छन् ।

निर्णायक मानिएको खेलमा च्यासललाई पराजित गर्दा दुई गोल गरेका फ्रान्कोइस् उच्च गोलकर्ताको शीर्ष स्थानमा रहे । ट्रिनीडाड एन्ड टोभागोका फरवार्डले पछिल्ला ६ खेलमा सात गोल गरेका हुन् । उनी पछिल्लो ६ खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लबविरुद्ध मात्र गोलविहीन बने । भारतीय आई लिग खेलिसकेका फ्रान्कोइस् पहिलो पटक नेपालमा लिग खेल्दै छन् । 

सुरूवाती खेलबाट नै फ्रेन्ड्स क्लबको प्रतिनिधित्व गरेका फ्रान्कोइसले थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबविरुद्ध भने चोटका कारण खेलेनन् । दोस्रो खेलमा संकटा क्लबविरुद्ध समेत ४१ मिनेट मात्र खेले ।  

जारी लिगमा एक खेल बाँकी रहँदा फ्रेन्ड्सले रेलिगेसन टारिसकेको छ । फ्रेन्ड्सलाई रेलिगेसनबाट बचाउन उत्कृष्ट प्रदर्शन गरेका फ्रन्कोइस्‌ले ८३६ मिनेट खेलेका छन् । उनले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासलविरुद्ध समान दुई गोल गर्दा एनआरटी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबविरुद्ध समान एक गोल गरेका छन् । 

समान ६ गोल गरेका आफिज ओलावाले र सुनिल बल फ्रान्कोइसलाई पछ्याउने क्रममा छन् । मनाङबाट खेलिरहेका नाइजेरियाली फरवार्ड र मछिन्द्रबाट खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर दुबैले समान ६ गोल गरेका छन् । 

एक खेलमा दोहोरो पहेंलो कार्ड र एक खेलमा चोट बोकेर एक मिनेटमात्र खेल्नु आफिजको लागि घाटाको विषय रह्यो । आफिजले दोहोरो पहेंलो कार्डका कारण मछिन्द्रविरुद्ध निलम्बनमा रहे भने एपीएफ फुटबल क्लबविरुद्ध चोटका कारण पहिलो मिनेटमै मैदान छाडे । पछिल्लो खेलमा भने एनआरटीविरुद्ध ४६ मिनेटमा मैदान प्रवेश गरे । 

आफिजले घरेलु मैदान पोखरा रंगशालामा च्यासल युथ क्लबविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सातदोबाटो युथविरुद्ध समान एक एक गोल गरे । यता, २४ वर्षीय सुनीलले समेत उच्च गोलकर्ताको दौडमा आफूलाई समेत राखेका छन् । पहिलो पटक मछिन्द्रको जर्सीमा देखिएका सुनीलले पहिलो खेलमै एनआरटीविरुद्ध दुई गोल गरेका थिए । यस्तै सुनीलले शेर्पा, मनाङ, नेपाल पुलिस र च्यासल युथविरुद्ध समान एक-एक गोल गरेका छन् । 

यस्तै पाँच गोल गर्नेमा नवप्रवेशी सातदोबाटो युथ क्लबका मार्टिन अजयी र एपीएफका आशिष लामा छन् । यस्तै चार गोल गर्नेमा सात खेलाडी छन् । लिग विजेता मछिन्द्रका विमल घर्ती मगर, फ्रेन्ड्सका नाथनियल जुनियर गार्सिया, पुलिसका सुमन लामा, शेर्पाका मुतम्बा पिस्टोन, मनाङका अन्जन विष्ट, एनआरटीका मेसोउके ओलोमोउ र आर्मीका जर्ज प्रिन्स कार्कीले समान चार गोल गरेका छन् । 

यस्तै आठ खेलाडीले तीन गोल गर्दा १९ खेलाडीले दुई गोल गरेका छन् । यता, एक गोल गर्ने ४७ खेलाडी रहँदा चार खेलाडीले आत्माघाती गोल गरेका छन् । लिगको अन्तिम चरणको खेल भोलि (बिहीबार) बाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ ले सम्मान गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);