काबुलमा महिलालाई बुर्का लगाउन दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काबुलमा महिलालाई बुर्का लगाउन दबाब

एजेन्सी । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ ।

१५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुर्नःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताए । 

शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनकाे भनाई छ । ‘नियम पालना नगर्नेमाथि कारबाही हुनेछैन्,’ मुजहिरले भने । काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपी केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोसाकमा सजिएका भेटिन्छन् । राजधानीबाहिरका सहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ । 

पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् । ‘उनीहरुले मानिसहरुमा त्रास बढाउन खोजेका छन्,’ विश्वविद्यालयकी एक विद्यार्थी तथा महिला अधिकार अभियन्ता भन्छिन् । सुुरुमा पोस्टर देख्दा आफू डराएको बताउँदै उनले भनिन्, ‘उनीहरुले मलाई बुर्का लगाउन भनेका छन् । उनीहरुले भनेको मैले कहिल्यै मान्दिन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);