काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहभित्र तीन ठाउँमा मंगलबार राति ११ बजेर १५ मिनेटमा गणना सुरु भएको हो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवार ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बाट मतदान भएको थियो । मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतदान सकिएको साढे २ घण्टापछि गणना सुरु भएको हो ।
केन्द्रीय निर्वाचन समितिले मतगणना सकिन कम्तीमा तीन घण्टा लाग्ने जनाएको छ । यस हिसाबले बिहान साढे २ बजे अन्तिम मतपरिणाम आइसक्नेछ । दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा छन् । देउवालाई पहिलो चरणमा तेस्रो भएका प्रकाशमान सिंह, चौथो भएका विमलेन्द्र निधि र पाचौं भएका कल्याण गुरुङले समर्थन गरेका छन् ।
शेखर भने एक्लै लडिरहेका छन् । पहिलो चरणमा देउवाले २२५८ र शेखरले १७२९ मत प्राप्त गरेका थिए । देउवालाई ५० प्रतिशत कटाउन ८२ मत कम परेको थियो । सभापतिपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतदान भने पर्सी बिहीबारदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिले जनाएको छ ।