झापा, २२ कार्तिक । पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको हो।
जिल्लाभरमा मृत्यु भएकामध्ये १२ जना दक्षिण झापा, ११ जना उत्तरी झापाका र एक जना माइपश्चिम क्षेत्रका छन् । पाँच वर्षका अवधिमा पृथ्वीनगर हाल भद्रपुर क्षेत्रका मात्रै छ जना हात्तीको आक्रमणमा मारिएका छन् । सो अवधिमा बाहुनडाँगीमा तीन जना मारिएको जिल्ला वन कार्यालयले जनाएको छ।
जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले भारतीय बथानसँग वर्षैदेखि छुट्टिएर करिब १३ जंगली हात्ती दक्षिण झापाको जलथल जंगलमा बस्दै आएको बताए । तिनै हात्ती राति चरनका लागि गाउँ पस्दा मानवीय क्षति हुने गरेको उनको भनाइ छ । अधिकांश रैथाने हात्ती जलथलमा बस्ने गरेको र केही निचाझोडा तथा दहीझोडातिर घुम्ने गरेको स्थानीयवासी बताउँछन् ।
दिनभरी जंगलको झाडीमा लुकेर बस्ने ती हात्ती साँझ पर्नासाथ आहारको खोजीमा पाखा निस्कन्छन् र स्थानीयवासीको खेत र घरभित्र घुसेर जे भेट्यो त्यही खाइदिन्छन् । पाकेर झुलेको धान, मकै र फलफूल हात्तीले मन पराउने आहारा हुन् । जंगल छेउछाउका बासिन्दाले फलाएको बाली हात्तीका लागि आहार बन्ने गरेको छ ।
विश्व बैङक्को लगानीमा बाह’नडागीको तिरिङ देखि काकँरभिट्टा सम्म बनेको बिद्युतिय तारबार ले धेरै हात्ती नियन्त्रण भएको भएतापनि नेपालका जंगलह?मा बस्ने हात्तीले दुख दिने गरेको छ। तथापि यो बनेको तारबारको सरक्षणमा स्थानिय तथा सरोकारवालाहरुले ध्यान दिनुपर्ने स्थानिय गोबिन्द न्यौपानेको भनाई रहेको छ ।
वर्षभरिको मेहनतको कमाइका रुपमा रहेको अन्नबाली खान आएको हात्तीलाई लखेट्दा मानिसमाथि हात्तीले आक्रमण गर्दै आएको छ । मान्छे र हात्तीबीचको यही द्वन्द्वमा कहिले हात्ती र कहिले मानिस मारिने गरेका छन् ।
यो समस्या समाधानका लागि भारतबाट हात्ती आउने प्रवेशद्धारमा नै बाध लगाउन सके यो नियन्त्रण हुने स्थानिय समाजसेवी बुद्धिनाथ पौडेल को भनाई छ ।
वनको सुरक्षाका लागि सरकारले परिचालन गरेको सशस्त्र वन रक्षकलाई हाल जंगली हात्ती धपाउन प्रयोग गरिँदै आएको छ । गोलीगठ्ठा भए पनि हात्ती धपाउने तालीम नभएका वन रक्षकले गाउँ पसेका हात्तीलाई परम्परागत तरिकाले जंगलतिर धपाउने गरेका छन् । हात्ती गाउँ पसेको खबर आउनासाथ तत्काल सो गाउँमा जाने गरेका वन रक्षकले गाउँलेलाई जोगाउँदै हात्तीलाई जंगलतिरै फर्काउन प्रयास गर्दैआएका छन् ।तर यो दिर्घकालिन समाधानको उपाय भने पक्कै होईन् ।




