एजेन्सी, २२ कार्तिक। अमेरिकाको भर्जिनियामा (प्रजातान्त्रकवादी) डेमोक्र्याट राल्फ नर्थम नयाँ गर्भनर चुनिएका छन्। अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आए यता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन्। भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा प्रतिस्पर्धामाझ रिपब्लिकन उम्मेदवार एड गेलेस्पीलाई जितेको प्रक्षेपण गरिएको छ।
न्यू जर्सीमा अर्का डेमोक्र्याट फिल मर्फी नयाँ गर्भनर बन्ने भनिएको छ। त्यहाँ पछिल्लो समय अलोकप्रिय बन्दै गएका रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीले आठ वर्ष सम्म शासन गरेका थिए। भर्जिनियाको गभर्नरको निर्वाचनलाई राष्ट्रपति ट्रम्पसँग जोडिएको चुनावका रुपमा हेरिएको थियो।
राष्ट्रपति ट्रम्पको युगमा डेमोक्र्याटहरुले जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको जवाफ भर्जिनियाको मत परिणामले दिने भनिएको थियो।डेमोक्र्याटिक दलका कतिपय शिर्ष नेताहरुले समर्थन जनाएपनि, उनीहरुका उम्मेदवार राल्फ नर्थममाथि आप्रवासन जस्ता मुद्दाबारेका आफ्ना धारणामा अडिग हुन नसकेको आरोप छ।




