काठमाडौ, २१ कात्तिक । युरोपियन युनियनले नेपालको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पर्यवेक्षण गर्ने अवसर पाउनुलाई ठूलो सौभाग्य भएको टिप्पणी गरेको छ ।
युरोपियन युनियन निर्वाचन परिवेक्षण मिसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गर्ने अवसर पाउनुलाई ठूलो सौभाग्य भएको प्रतिक्रिया दिएको हो ।
प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाउनु आफूहरुका लागि ठूलो सौभाग्य भएको बताए । उनले लोकतान्त्रिक निर्वाचनसम्बन्धि अन्तराष्ट्रिय तथा क्षेत्रीय प्रतिवद्धतालाई निर्वाचनले कति परिपालना गरेको छ भनेर मूल्यांकन गर्नु मिसनको कार्यादेश रहेको स्पष्ट पारे ।
मिसनले पर्यवेक्षणका क्रममा निर्वाचन प्रक्रियामा कुनै पनि खालका हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत जनाएको छ । प्रमुख पर्यवेक्षक जोभ्कोले पर्यवेक्षकहरु कठोर आचारसंहितामा बाधिएका हुनाले उनीहरुले निर्वाचनको निष्पक्षता कायम राख्न प्रतिवद्ध रहने विश्वास व्यक्त गरे ।
मिसनले निर्वाचन पर्यवेक्षणका लागि १० जनाको मुख्य टोली परिचालन गरेको छ । त्यसैगरी देशभर ३८ जना पर्यवेक्षकहरु परिचालन गरिएको पनि मिसनद्धारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।