काठमाडाैं । तीन वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने बेला रातारात चिटिक्क पारिएको तिनकुने पार्क यतिबेला हेर्न लायक नै छैन । पार्क सजाउनका लागि मात्र ५० लाख खर्च गरेको महानगरले त्यसको संरक्षण नगर्दा त्यो खर्च अहिले बालुवामा पानी हालेसरह भएको छ ।
यो हो राजधानीको तिनकुनेको बीचमा रहेको खाली जग्गा, सरकारले पार्क बनाउन यो जमिन ४६/४७ वर्ष अघि अधिग्रहण गरेको हो । तर, त्यो सरकारी योजना मुआब्जा विवादमा हाल सम्म पनि झेलिरहेको छ ।
मुअब्जा विवाद सुल्झाउन नसक्दा योजनाअनुसारको तिनकुने पार्क निर्माण गर्न नसकेपछि विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुख भ्रमणमा आउँदा लाज ढाक्नकै लागि यस जग्गालाई जस्तापाताले घेर्ने गरिन्छ भने कहिलेचाहिँ रातारात दुबो र बोटबिरुवा लगाएर सिँगारपटार गरिन्छ ।
भिआइपीहरुको भ्रमण सकिएपछि चाहिँ ठाउँ फेरि अलपत्र पर्छं । तीन वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने बेला रातारात हरियाली बनाइएको तीनकुने पार्क अहिले उजाड बनेको छ ।
तिनकुने पार्कमा सजावटका लागि राखिएका कंक्रिटका जनावरका प्रतिमा फुटेर टुक्रिएका छन् भने केहि लडेका छन् । भित्र मैदानमा मान्छे हराउने घाँस उम्रेको छ । डिल उकासेर रोपेका बिरुवाहरु केही सप्रेका छन् । ति सप्रेका बिरुवाहरुले गर्दा बाहिरबाट झट्ट हेर्दा राम्रै लागे पनि भित्र कुरुप छ ।
तीनकुने पार्क सजाउका लागि मात्रै सरकारले त्यतिबेला ५० लाख खर्च गरेको थियो । तर अहिले पाक हेर्दा राज्यको ढुकुटीबाट खर्च गरिएको त्यति ठुलो रकम यसै खेर गएकोमा थकथकी मात्रै लाग्छ । महानगर भने स्थायीरुपमा व्यवस्थित पार्क निर्माण गर्ने योजनाअनुसार त्यसबेला अस्थायी संरचना बनाएकाले तिनको संरक्षण गर्न नसकेके भन्दै गल्ती ढाकछोप गर्छ ।
काठमाडौंमा सम्मेलन, सभा वा विदेशी पाहुना आउँदा सहर सिंगार्ने जिम्मा महानगरपालिकाको हुन्छ । ‘पाहुनाको स्वागत, सत्कार हाम्रो संस्कृति नै हो । त्यस्ता विशेष कार्यक्रममा महानगरले सहर सौन्दर्यीकरण गर्ने गरे पनि यस्ता काम दिगो नहँुदा यस्तो लगानी बालुवामा पानी हालेसरह हुने ज्वलन्त उदाहरण बनेको छ तीनकुने पार्क ।