धान काट्ने सिजनभर विद्यालयमा भेटिदैनन् छात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

धान काट्ने सिजनभर विद्यालयमा भेटिदैनन् छात्रा

सप्तरी । स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत राजविराज नगरपालिका-२ की पार्वती रजक कत्तिक अन्तिम सातादेखि विद्यालय गएकी छैनन् । उनी अचेल ट्युसन सक्ने बित्तिकै बिहानै धान काट्न खेततिर लाग्छिन् । ८ बजे धान काट्न खेत गएपछि उनी २ बजे मात्रै घर फर्किन्छिन् । विद्यालयमा पठनपाठन सुचारू रहे पनि धान काट्ने सिजन भएकाले विद्यालय जान पाएकी छैनन् ।

पार्वती मात्रै हाेइन यस क्षेत्रमा रहेका सबैजसाे विद्यालयमा अचेल छात्राहरू देखिदैनन् । धान नभित्र्याएसम्म यहाँका विद्यालयमा छात्राकाे उपस्थिति सून्य जस्तै हुन्छ । पार्वती भन्छिन्,´कात्तिक पहिलाे सातामा आएको बाढीले आधा धानबाली सखाप गर्यो । बाँकी रहेकाे धान झर्न थालेपछि आफुसहित बहिनी पनि धान काट्न व्यस्त रहेको उनले बताइन । `पेटमा खाना भए पो पढ्न वा अन्य काम गर्न सक्छौं । भएको धान बेलैमा भित्र्याउन सके कम्ती ६ महिना त ढुक्कले खान सक्छौं । त्यसैले पढाइभन्दा धानलाई महत्त्व दिएकाे पार्वतिकाे भनाइ छ।

सोही ठाउँकी कक्षा १० मै अध्ययनरत पुनिता मण्डल पनि हिजोआज धान काट्न व्यस्त छिन् । बिहानदेखि बेलुकासम्म धान काट्न भ्याईभ्याई भएपछि उनले पढ्न लेख्न भ्याउन नसकेको दुखेसो पोखिन् । उनले भनिन्, ´आधाभन्दा बढी धानबाली बाढीले सक्यो । बाँकी रहेको धानको मात्र आशा छ। त्यो पनि बेलैमा भित्र्याईएन भने वर्षभरि भोकै बस्नुपर्ने बाध्यता हुन्छ।’

धान काट्न व्यस्त भएपछि बिद्यालय छोड्नुपर्ने बाध्यता भएको पुनिताले बताईन् । सोही ठाउँकी ६४ वर्षीया कमली यादवले भनिन्,´धान पाकेर झर्न थालेको छ। सबै किसानको समस्या एउटै भएकोले सबैले आआफ्नो धान काट्न थालेका छन् ।` मजदुर पाउन समस्या भएपछि बिद्यालय छोडेर छात्रहरू धान काट्न बाध्य भएको कमलीको भनाइ रहेको छ।

राजदेवी ठाको देवी जोगेन्द्र भगत माध्यमिक बिद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद यादवले अहिले जिल्लाको ग्रामीण भेगमा विशेषगरि छात्राहरू धान काट्न व्यस्त भएको बताए । उनले विद्यार्थीको न्यून उपस्थितिका कारण दुई तीन वटा सेक्सन मर्ज गरेर पढाउने गरेकाे बताए । उनले भने,`धान  लगाउने असार साउन र भित्र्याउने कात्तिक, मंसिरमा अरू बेला भन्दा विद्यार्थीको उपस्थिति कम हुन्छ ।’ उनले कोरोनाले डेढ वर्ष बिद्यार्थीको पठनपाठन त्यसै अवरुद्ध भएको बेला फेरि अहिले विद्यालयमा विद्यार्थी पातलिएको देख्दा चिन्ता लागेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);