लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ ।
रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेकाे थियाे ।
लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो ।