भेट्रान्स कपमा छाएका जुमनु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भेट्रान्स कपमा छाएका जुमनु

काठमाडौं । घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए जुमनु राईले । जुन गोलका कारण हजारौ संख्यामा प्यारापिटमा उत्रिएका समर्थकको चिच्चाहटले काठमाडाैँ उपत्यका नै गुञ्जायमान भएको आभास गराएकाे थियो ।

नेपाल सधैँ भारतविरुद्ध जित निकाल्ने योजनामा हुन्छ । तर, भारतविरुद्धको इतिहास भने राम्रो छैन ।  भारत भन्ने बित्तिकै खेलाडीदेखि लिएर समर्थकमा समेत राष्ट्रिय भावना उत्पन्न हुन्छ । भारतविरुद्धको दोस्रो गोल, त्यो पनि घरेलु मैदानमा । गोलका कारण मैदानमा उपस्थित दर्शकले रमाइलो नगर्ने कुरै भएन । जुमनुको ‘सेलेब्रेशन’ समेत त्यस्तै थियो । 

व्यावसायिक क्लबमा समेत सहकर्मी रहेका रविन श्रेष्ठले बायाँ विंग्सबाट क्रस गरेको बललाई जुमनुले दोस्रो बारमा उत्कृष्ट फिनिस गरे । सन् २०१३ को सेप्टेम्बर भारतविरुद्ध गोल गर्दाताका जुमनु आफ्नो खेल जीवनीको मुख्य लयमा थिए । 

यही समय तिर हो अग्रपंक्तिमा जुमनुलाई रोक्नु मुस्किलको कुरा थियो । विपक्षीलाई आफ्नो ‘बक्स’मा जुमनुलाई रोक्न धौधौ पर्ने गर्थ्याे, चाहे अन्तर्राष्ट्रिय खेल होस् या घरेलु प्रतियोगिता नै। 

समय फेरियो, जमाना फेरियो । उमेर बढ्दै गयो । तर, प्रतियोगिताको स्तर फेरिए पनि जुमनुको खेल स्तर भने फेरिएको छैन । काठमाडौंमा जारी पहिलो संस्करणको भेट्रान्स कपमा जुमनुले उही आफ्नो पुरानो रफ्तार दिइरहेका छन् । 

‘फुटबरर्स मिसन टुगेदर्स’को आयोजना जारी भेट्रान्स कपमा जुमनु प्रेरित ‘एफडी खुमलटार’ फाइनल प्रवेश गरेको छ । फाइनलसम्मको यात्रा तय गर्दा खुमलटारले चार खेल खेल्दा जुमनु एक्लैले तीन गोल गरेका छन् । 

भेट्रान्स कपमा समेत विपक्षीको टाउको दुखाइको विषय बनेका छन् जुमनु । फाइनल उपाधिका लागि जुमनुको खुमलटारले झापा भेट्रान्स एफसीको सामना गर्नेछ । प्रतियोगितामा ३५ वर्षका तीन खेलाडीले एक क्लबबाट खेल्न पाउने नियम छ । आफू नियमित खेलिरहेको विभाग नखेलेपछि जुमनुले आफ्नो १५/१६ वर्षदेखि सँगै खेलिरहेका दाजुभाइ (अग्रजअनुज)हरूसँग मिलेर खेल्ने निर्णय गरे । जहाँ जुमनु सफल भएका छन् । 

‘हाम्रो विभाग (पुलिस क्लब क्लब)ले सहभागिता नजनाएपछि मैले अग्रजहरूसँग मिलेर खेल्ने निर्णय लिए’, जुमनु भन्छन् ।  जुमनुले बाल्यकालदेखि नै आफूलाई सहयोग गर्दै आइरहेका अग्रजहरूले क्लब स्थापना गरेर खेल्ने बताएपछि अन्य क्लब जाने सोचाइ नै बदले । 

ठमेलमा रहँदै आएका नरेन्द्र लामा, कन्चन गुरुङ, मनि गुरुङ, प्रशिद्ध किरात र चेन्जिङ लामासँग सहकार्य गर्दै जुमनु खुमल्टारबाट खेल्न तयार भए । यसपछि उनले अन्य क्लब रोज्न चाहेनन् । राम्रो ‘अफर’ समेत जुमनुलाई नआएको हैन । तर, जुमनु पैसामा भन्दा पनि साथी र अग्रजहरूको खुसीकै लागि क्लब स्थापना गरी भेट्रान्स कप खेल्न तयार भए । 

‘अन्य क्लबबाट राम्रो प्रस्ताव आएको थियो ।  नचिनेका दाईहरुले यति दिन्छौं भन्दै ठूलाठूला प्रस्ताव नल्याएका हैनन् । खेल्न आइज भन्थे । तर, विभाग (नेपाल पुलिस) नखेल्ने भएपछि १५/१६ वर्षदेखि सम्बन्ध रहेका दाईहरूसँग खेल्ने निर्णय लिएँ। एक प्रकारले यो आफ्नै टिम पनि हो’, जुमनु न्युज कारखानासँग भन्छन् ।  

जारी लिगमा जुमनुले पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका थिए भने सेमिफाइनलमा सानो गौचरण नाइट किंग्स क्लब (एसएनकेसी)विरुद्ध एक गोल गरेका थिए । सबैको अनुमान थियो, सानो गौचरण सहजै फाइनल पुग्नेछ । तर, त्यसलाई सिद्ध हुन दिएनन् उनै जुमनुले । 

एसएनकेसीविरुद्ध जुमनुको फिनिसिङ निकै नै उत्कृष्ट रह्यो । मैदानको बायाँ विंग्समा बल भेट्टाएका जुमनुले १८ यार्डभित्र बल पुर्‍याउँदै तीन डिफेण्डरलाई बिट गरेर राम्रो फिनिस गरे । जुमनुको गोलसँगै खेलको सात मिनेटमै खुमलटारले २-० को अग्रता बनायो । र यही अग्रता जोगाउँदै फाइनलमा स्थान बनायो । 

अब, फाइनल भोलि (मंगलबार) हुनेछ । जुमनुको योजना झापालाई हराउँदै उपाधि चुम्ने रहेको छ । त्यो पनि आफ्नै गोलमा । ‘फाइनलसम्म सबैको मेहनत उत्तिकै छ । प्रतियोगिता एकदमै राम्रो भयो । सबैको मेहनतले यहाँ आइपुगेका छौँ । अब, फाइनलमा समेत यही मेहनतले सफल हुने योजना छ । फाइनल खेल्न उत्साहित छौँ । जित्नकै लागि खेल्छौं’, जुमनुले भने । 

जुमनु नेपाल राष्ट्रिय फुटबल टोलीको सुखद् विदाइकाे पर्खाइमा समेत छन् । सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका जुमनु सन् २०१५ भारतविरुद्ध अन्तिम खेल खेलेपछि टोलीबाहिर छन् । जुमनुले राष्ट्रिय टोलीबाट ११ गोलसमेत गरेका छन् । पुरुष फुटबलमा जुमनुको ११ गोल सर्वाधिक तीन भित्र पर्ने गर्छ । निराजन रायमाझी र हरि खड्का (समान १३ गोल ) पछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी जुमनु हुन् । 

पछिल्लो साल विभागबाट शान्ति सेनामा लागेपछि जुमनु राष्ट्रिय टोली बाहिर छन् । उनी चाहन्छन् एन्फाबाट एउटा सुखद् विदाइ । भेट्रान्स कपमा छाएका जुमनु अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिकबाट आयोजना गर्ने शहिद स्मारक ए डिभिजन लिगको तयारीमा समेत छन् । 

प्रहरी नायव निरीक्षक (सई) रहेका जुमनु नेपाल पुलिस क्लबको कप्तानसमेत हुन् । ३७ वर्षीय यी खेलाडी आगामी लिगमा समेत उही प्रदर्शन दिने योजनामा छन् । गत सिजन अन्तिम खेलमा जुमनुले फ्रेण्ड्सविरुद्ध ह्याट्रिक गर्दै पुलिसलाई शीर्ष ६ मा राख्दै राष्ट्रिय लिगको लागि छनोट गराएका थिए । ‘लिग खेल्ने योजनासहित तयारी गरिरहको छु । लिगको तयारीले नै भेट्रान्स खेल्न सहज भइरहेको छ ।  पुलिस टिम पहिलेभन्दा पनि राम्रो भएको छ । यस पटक लिगमा झनै राम्रो गर्छौं’, उनले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);