काठमाडौं । निर्देशक निश्चल बस्नेतले नेपाली फिल्मलाई चलायमान बनाउन आआफ्नो स्थानबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । हालै एक फिल्म हलको उद्घाटन कार्यक्रममा उनले कोरोना महामारीले फिल्म क्षेत्रमा निराश बढेका बेला हलको उद्घाटन हुनु सुखद संकेतको रूपमा लिनुपर्ने बताए ।
‘यो समयमा हल खुल्नु निकै खुसीको कुरा हो, यसले फिल्मी क्षेत्रलाई चलायमान बनाउने मेरो विश्वास छ’, निश्चलले भने ।उनले हल सुरक्षित रहेको संदेश दर्शकमाझ पुगेमा फिल्म क्षेत्र विस्तारै चलायमान बन्ने बताए । उनले यो समयमा फिल्म बनाउँदा दर्शक र बजारलाई हेरेर बनाउनु पर्नेमा जोड दिए ।
‘कोरोना भाइरसको कारणले सिर्जित अवस्थापछि हामीले काम गर्दा दर्शक पनि हलसम्म आउने र निर्माताको लगानी पनि सुरक्षित रहने फिल्म बनाउनुपर्छ’, निश्चलले भने । उनले आफूले पनि फिल्म बनाउने कोसिस गरिरहेको बताए ।
फिल्म प्रदर्शन अन्ततः व्यापार नै भएकोले त्यसतर्फ चनाखो हुनु जरुरी रहेको बताएका उनले भने, ‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ । अन्ततः फिल्ममा जोडिने भनेकै विजनेश हो । त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’