तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेकाे छ । शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएकाे हाे ।
फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेकाे थियाे । म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।
उपविजेता सहिदभूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएकाे छ । विजेता र उपविजेता टिमलाई लालिगुराँस नगपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो । प्रतियोगितामा तेह्रथुमसहित धनकुटा,संखुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो ।