इटालीका विकास मेराग्लिया भन्छन्– नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इटालीका विकास मेराग्लिया भन्छन्– नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु

काठमाडाैं । युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लियाले नेपाल राष्ट्रिय टोलीबाट खेल्ने अवसर आएमा स्वीकार्य रहेको बताएका छन् । उनले आफ्ना लागि यो खुसीको कुरा हुने पनि बताए ।

बिहीबार शहिद स्मारक ए डिभिजन क्लब च्यासल युथले गरेको पत्रकार सम्मेलनमा बोल्दै १८ वर्षीय विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए खुसी हुने बताए । यस्तै उनले अहिले नै यो निर्णय गर्न हतार हुने र यहाँ (नेपाल)को वातावरण हेरेर निर्णय लिने बताएका छन् । 

‘यस्तो अवसर पाए खुसी छु । अहिले नेपाल आएर यही गर्छु भने निर्णय गरेको छैन । अहिले क्लबमा ध्यान केन्द्रित गर्छु । बाँकी यहाँको वातावरण हेरेर निर्णय लिन्छु’, विकासले भने । 

१३ वर्षअघि नेपालबाट इटाली पुगेका विकासले इटालीको यू–१६ टोलीबाट खेलिसकेका छन । यस्तै विकासले हालै इटाली सिरी ए क्लब एटलान्टाको जुनियर टोलीसँगको सम्झौता सकाएका छन् । यसअघि विकासले भेनेजियाको युवा टोली तथा काटोलिया र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् । 

च्यासलले विकासलाई एक वर्षको लागि सम्झौता गरेको छ । च्यासलमा रहँदा विकासले १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलसँग अनुबन्ध भएपछि पत्रकारमाझ खुलेर बोलेका विकासले नेपाल आउन पाएकोमा खुसी लागेको र नेपाल आफ्नो सपना भएको बताए । 

‘मैले १३ वर्षअघि नेपाल छोेडेको थिएँ । मेरो सपना नेपाल हुन्थ्यो । नेपाल कसरी जाने भन्ने थियो’, अट्याकर तथा लेफ्ट विंगर विकासले भने । विकासले इटालीको भन्दा नेपालमा गर्मी भएको र नेपालमा आउँदा आफूले ‘फ्री’ महसुस गरेको बताए । 

‘इटालीबाट नेपालको उडान लामो भयो । नेपाल झर्दा म ‘फ्री’ भएको जस्तो भएँ । मौसम इटालीभन्दा गर्मी छ । सबैलाई धन्यवाद दिन चाहन्छु’, विकास भन्छन् ।
च्यासल मैदानमा भएको पत्रकार सम्मेलनपछि विकासले केही समय आफ्नो खेल कौशल पनि देखाएका थिए । 
शुक्रबार विकास र च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले सम्झौतापत्रका हस्ताक्षर गरे । विकासले च्यासलसँग विदेशी खेलाडीको कोटामा सम्झौता गरेका हुन् । 

सम्झौतापछि बोल्दै ब्यञ्जनकारले विकासलाई दुई वर्षअघि नै टोलीमा झिकाउने प्रयास गरे पनि अहिले सफल भएको बताए  ।  ‘हामीले दुई वर्षअघिबाट विकासलाई ‘फलो’ गरेका थियौँ । यो वर्ष ल्याएका छौँ । एक वर्षको सम्झौता भएको छ’, अध्यक्ष ब्यञ्जनकारले भने । 

यसअघि क्लबले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई अनुबन्धन गरेको थियो । यस्तै राष्ट्रिय टोलीका सदस्य कमल श्रेष्ठलाई समेत अनुबन्धन गरेको छ । 

हालै च्यासलले टोलीको टेक्निकल डाइरेक्टरको रूपमा ले मन्सनलाई भित्र्याएको छ । उनले फिलिपिन्सको यू–२३ टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । यस्तै हालै टोलीले नेपाल यू–२३ टोलीका सदस्य राजिव लोप्चानलाई एपीएफबाट भित्र्याउँदा टोलीसँग अभिषेक लिम्बूसमेत रहनेछन् ।

च्यासलले यस पटक आफ्नो अनुमानित बजेट दुई करोड हुने बताएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);