Our Network

मंसिर १३ २०७८, सोमबार

पाउजु लुट्न हत्याको प्रयास गर्ने पक्राउ

जनकपुरधाम । धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिका- ६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास  गरेका थिए ।

छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । अहिले जमुनको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा महतोले जमुनको पाउजु लुट्न हत्याको प्रयास गरेको खुल्न आएको उनले बताए ।

Leave a Reply