बुटवल । किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए । ९३ हजार ५७६ हेक्टरमा काटेर तयारी अवस्थामा रहेको र ढलेको धानखेती वर्षाले क्षति पुर्याएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।
काट्न बाँकी रहेको धानमा भने क्षति नभएको भन्दै देवकोटाले क्षति भएका किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसँग निर्देशनालयले समन्वय गरिरहेको बताए ।
लुम्बिनी प्रदेशमा पर्ने तराइका अधिकांश जिल्लामा धान पाकिसकेको थियो । केही ठाउँमा पाक्ने क्रममा थियो । पानी परेपछि काटेर सुकाएका धानबालीमा वर्षाले ठूलो क्षति पुर्याएको हो । ‘पछिल्लो धानमा खासै असर पुगेको छ, पाक्न लागेको र नढलेको धानमा पनि असर पुगेको छैन’, देवकोटाले भने । समयमा पानी परेको र मल पनि समयमै उपलव्ध भएकाले यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।
कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशमा प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । यो हिसावले लुम्बिनीमा ३६ हजार ४८० हेक्टर खेतबाट एकलाख २७ हजार ६८० मेट्रिक टन धानमा वर्षाले क्षति पुर्याएको छ ।
धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो ।
रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् । रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।