शीर्ष दल नै महिला प्रति अनुदार : प्रतिनिधिसभाका लागि १८ महिला मात्र मैदानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, १७ कार्तिक । प्रमुख राजनीतिक दलहरु फेरि पनि महिलाप्रति अनुदार देखिएका छन् । मंसिर १० गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको ३७ सिटमा प्रमुख दलले जम्मा ३ जना महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेकामा दोस्रो चरणको निर्वाचन पनि महिलालाई टिकट दिन कञ्जुस्याईं गरेका छन् । १ सय २८ सिटका लागि हुन लागेको निर्वाचनमा प्रमुख तीन दलका तर्फबाट जम्मा १५ जना महिलाले टिकट पाएका छन् ।

प्रतिनिधिसभातर्फ ४५ जिल्लाका १ सय २८ क्षेत्रमा मंसिर २१ गते हुन लागेको निर्वाचनमा १ हजार ७ सयभन्दा बढी उम्मेद्वार मैदानमा उत्रिएका छन् । प्रमुख दलमध्ये नेकपा एमालेले माओवादी केन्द्र तथा नेपाली कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँगको गठबन्धनमा आफ्ना उम्मेदवारलाई मैदानमा उतारेका हुन् । उम्मेदवार मैदानमा उतार्ने क्रममा प्रमुख दलहरु महिलाप्रति निकै अनुदार रहेको उम्मेदवारी दर्ताले देखाएको छ । दोस्रो चरणको प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रमुख तीन दलका तर्फबाट जम्मा १५ जना महिलाको नाम मात्र उम्मेदवारको रुपमा दर्ता भएको छ । नेपाली कांग्रेसबाट ७, नेकपा एमालेबाट ५ तथा माओवादी केन्द्रबाट ३ जना महिलाले प्रतिस्पर्धाको अवसर पाएका हुन् ।

कांग्रेसले तेह्रथुममा सीता गुरुङ, काठमाडौं–३ मा अम्बिका बस्नेत, मकवानपुर–२ मा महालक्ष्मी उपाध्याय डिना, महोत्तरी–२ मा किरण यादव, दाङ–१ मा शुशिला चौधरी तथा कैलाली–१ मा ईश्वरी न्यौपाने र कैलाली–५ मा डा. आरजु राणालाई उम्मेद्वार बनाएको छ । प्रत्यक्षतर्फ उम्मेद्वार बनेका यी सात जना सबै पूर्व सांसद् हुन् । सातमध्ये चौधरीले अघिल्लो निर्वाचनमा दाङ–१ बाट जितेकी थिइन् भने अरु सबै समानुपातिकबाट सांसद्को अवसर पाएकाहरु हुन् ।

एमालेले उदयपुर–१ मा मञ्जुकुमारी चौधरी, सुनसरी–३ मा भगवती चौधरी, झापा–२ मा पवित्रा खरेल, स्याङजा–२ पद्य्मा कुमारी अर्याल र कैलाली–१ मा गरिमा शाहलाई उम्मेद्वार बनाएको छ । यी पाँचमध्ये मञ्जुकुमारी, खरेल र शाह पूर्वसांसद् हुन् । माओवादी केन्द्रले पूर्वसांसद्द्वय पम्फा भुषाललाई ललितपुर–३ र उर्मिला अर्याललाई पर्सा–४ तथा विना मगरलाई कञ्चनपुर–१ बाट चुनावी मैदानमा ओरालेको छ ।

पार्टीले पत्याएर टिकट पाएका महिलामध्ये सीता गुरुङले पूर्वसांसद भवानी खापुङ, अम्बिका बस्नेतले एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, महालक्ष्मी उपाध्यायले एमालेकै पूर्वसांसद विरोध खतिवडा र शुशिला चौधरीले एमालेका मेटमणि चौधरीलाई प्रतिस्पर्धीको रुपमा पाएका छन् । ईश्वरी न्यौपानेले एमालेकी गरिमा शाह तथा डा. आरजु राणाले एमालेकै नारदमुनी राना थारुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अघिल्लो निर्वाचनमा उदयपुर–१ बाटै जितेकी एमालेकी मञ्जुकुमारी चौधरीले जितलाई निरन्तरता दिन डा. नारायण खड्का, पद्य्मा कुमारी अर्यालले गोपालमान श्रेष्ठ र भगवती चौधरीले विजयकुमार गच्छदार जस्ता कांग्रेसका हेभिवेट नेतालाई पन्छाउनुपर्ने छ ।

माओवादी केन्द्रका तीन महिला उम्मेद्वारले पनि कांग्रेसका पूर्वसांसदलाई प्रतिस्पर्धीको रुपमा पाएका छन् । प्रतिनिधिसभाको सदस्य बन्न पम्फा भुसालले मदनबहादुर अमात्य, उर्मिला अर्यालले रमेश रिजाल र विना मगरले दिवानसिंह विष्टलाई पराजित गर्नुपर्ने भएको छ । ३७ सिटका लागि मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनमा कांग्रेसका सरस्वती बजिमय र चम्पादेवी खड्का तथा माओवादी केन्द्रकी कमला रोक्का प्रतिस्पर्धामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);