आज ६६ औँ प्रहरी दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आज ६६ औँ प्रहरी दिवस


काठमाडौं । नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज बुधबार ६६औँ प्रहरी दिवस मनाइँदैछ । विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ ।

२०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरियो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको हो । प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ । आज मुख्य दिन हो ।

किन मनाइन्छ ?
प्रहरी अधिकारीका अनुसार प्रहरी ऐन आएको दिन अर्थात औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मानिँदै आएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, हरेक प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा व्याख्या गर्छन् । 

‘अर्कोतर्फ विगतमा गरेका कामकारवाहीको समीक्षा गरेर भएका त्रुटिहरुलाई सच्याउने र राम्रा कामहरुलाई निरन्तरता दिने दिन पनि हो,’ उनी भन्छन् । 

डीआईजी सुवेदी नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने, पूर्व प्रहरी अधिकृत र जवानहरुले विगतमा पुर्‍याएको योगदानको सम्मान गर्ने, उनीहरुले देखाएको सकारात्मक मार्ग निर्देशनमा अगाडि बढ्ने अठोट गर्ने पनि दिनका रुपमा व्याख्या गर्छन् । 

‘जनताको सेवा रशान्ति सुरक्षा हाम्रो धर्म हो । अपराध नियन्त्रण तोकिएको जिम्मेवारी छ । विभिन्न प्रकोपमा परेकालाई उद्धार गर्ने छ । यसमा अझ हामीले भरपर्दो सेवा गर्न सकौं भनेर कसम खाने पनि दिन हो,’ उनी अझै व्याख्या गर्दै भन्छन् । 

प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । ‘रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायत विभिन्न गरिरहेका छौं । यहीँ क्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मानित गर्ने, कामको समीक्षा गर्ने हुन्छ । प्रधानमन्त्रीको उपस्थितिमा शहीद अमरप्रति सलामी, माल्यार्पणका काम हुन्छन्,’ सुवेदीले भने, ‘अमर प्रहरी परिवारलाई सम्मान प्रमाणपत्र तथा छात्रवृत्ति लगायत प्रदान गरिन्छ । यी विभिन्न गतिविधि गरेर मनाउँछौं ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवर नेपालमा पहिलोपटक३१ असोज२०१२ मा प्रहरी कानुन लालमोहर लागेको सम्झनामा दिवस मनाउन थालिएको बताउँछन् । दिवसमा कर्तव्य गर्ने सिलसिलामा दु:खद निधन भएका अमर प्रहरीप्रति श्रद्धान्जलि गर्ने, परिवारलाई सम्मान गर्ने कदर पत्र प्रदान गर्ने हुने उनी बताउँछन्  । 

‘अर्कोतिर प्रहरीले आफूले वर्षभरी गरेका कामको समीक्षा गर्छ । राम्रो के के भयो नराम्रो के के भयो ? भोलिका दिनमा कसरी सुध्रेर जाने, कसरी राम्रो गर्ने भन्ने समीक्षा गर्ने आत्मसमीक्षा गर्ने दिनका रुपमा लिइन्छ,’ उनले न्युज कारखानासँग भने,‘यो दिन प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाकासम्म यसलाई मनाइन्छ । तीन दिनसम्म दिपावली पनि गरिन्छ ।’

दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी अधिकृतलाई सम्बोधन गर्ने प्रवक्ता कुँवरले बताए । समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिने छ । उनकाअनुसार प्रधानमन्त्रीको हातबाट ३३ जना अमर प्रहरी परिवारलाई सम्मान गरिँदैछ । यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो । 

‘विशेषत एउटा कानुन आएको खुसियाली र अर्को शहिदप्रति श्रद्धाञ्जली र सम्मान दुइटा मिठो र नमिठो कुरा मिसिएको हुन्छ । यसरी मनाइन्छ । प्रहरी ऐन आएको लागु भएको स्मरणमा मनाउन लागिएको हो,’ उनी भन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);