सर्वसाधरणका लागि न्यादीको आईपीओ निष्कासन | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सर्वसाधरणका लागि न्यादीको आईपीओ निष्कासन

ipo

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले सर्वसाधरणका लागि आईपीओ खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि १५ असोजदेखि विक्री हुनेगरी आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता निष्कासनमा ल्याएको हो।कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार पाँच सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। निष्कासन गरेका सेयरमा सर्वसाधारणले यही १९ असोजसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिसेयर एक सय रुपैयाँ अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको  एक सय रुपैयाँ अङ्कित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत १ भदौदेखि निष्कासन खुला गरी बाँडफाँडसमेत भइसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply