घटनाको तथ्य पत्ता नलाएसम्म पुष्पाको शव आफन्तले नबुझ्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

घटनाको तथ्य पत्ता नलाएसम्म पुष्पाको शव आफन्तले नबुझ्ने

ताप्लेजुङ । गएको शुक्रबार ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ दोखुको निगाले भीरमा फेला परेको पुष्पा तबेबुङ लिम्बूको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी १८ वर्षीया पुष्पाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तले बताएका हुन् ।

घटनास्थलको प्रकृति हेर्दा छोरीको हत्या नै भएको मृतकका बुबा वीरबहादुर लिम्बूले बताए । पीडित पक्षको उपस्थिति बिना नै घटना स्थलबाट शव उठाउनु पनि शंकास्पद भएकोभन्दै घटनाको सत्यतथ्य पत्ता लगाउनेतर्फ प्रहरी प्रशासन अग्रसर नदेखिएको पनि लिम्बूले आरोप लगाए । 

किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्ता गरेकाले घटना अझ रहस्यमय भएको उनको भनाइ छ । घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासनले अझै तदरुकता नदेखाए आफूहरू आन्दोलनमा उत्रने मृतकका आफन्तको चेतावनी छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासनलाई दबाब दिनका लागि मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायत सबै पक्षलाई सहयोग गर्न पनि पीडित परिवारले आग्रह गरेको छ ।

चाँडै सत्यतथ्य पत्ता लगाउने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा विषादीको बट्टा भेटिएकाले आत्महत्या भएको हुनसक्नेसमेत प्रहरीको अनुमान छ । शवको पोष्टमार्टम गर्न नपाएकाले पनि घटनाको अनुसन्धानमा केही बाधा पुगिरहेको एक प्रहरी कर्मचारीको भनाइ छ । 

मृतक पुष्पा सदरमुकाम फुङ्लिङ बजारको बिहीबारेमा  बसेर भानुजन माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत थिइन् । डेरा बसेको क्षेत्र बिहीबारेदेखि करिब आधा घण्टाको दूरीमा उनको शव भेटिएको थियो । शव शुक्रबारदेखि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);