चुरे क्षेत्रको पहिरोपीडितका घरभाडा बुटवल उपमहानगरले तिरिदिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चुरे क्षेत्रको पहिरोपीडितका घरभाडा बुटवल उपमहानगरले तिरिदिने

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिरोबाट विस्थापित भएका पीडित परिवारलाई अस्थायी आवासका लागि घरबहाल खर्च दिने भएको छ । हालैको अविरल वर्षापछि आएको बाढीपहिरोले ज्योतिनगर क्षेत्रका केही घर भत्किनुका साथै उच्च जोखिममा परेका छन् । त्यस्ता घरधनीहरू स्थानीय विद्यालयहरूमा आश्रय लिइरहेका छन् ।

विद्यालयमा आश्रय लिन बाध्य परिवारलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहतस्वरुप रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुर्नस्थापनालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । पहिरो र बाढीबाट पूर्ण रुपले घरआवास क्षति भएर विद्यालयहरूमा आश्रय लिइरहेका र अन्यत्र कुनै बसोबासको व्यवस्था नभएका पीडित परिवारलाई समितिको सिफारिसमा तत्काललाई बहाल खर्च सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए । यसका लागि सम्बन्धित वडाबाट पीडितहरूको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रक्रिया अगाडि बढाइने छ । साथै बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनःस्थापनालाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्य खाँचो रहेको बैठकको ठहर छ । 

उपमहानगरको तिनाउ दानव नदीमा बाढी आइ कटान गरेको र चुरे क्षेत्रका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७ र १८ मा भएको क्षतिको विवरणसहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

१३ भदौमा आएको वर्षाले बुटवलको वडा नम्बर ३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुंगामाटो हटाउने काममा उपकरणसहितको उपमहानगरको टोली खटिएको छ । पहिरोबाट आएको लेदो, ढुंगामाटो हटाई सफा गरेको विवरण र बिल भपाई लगायतका कागजातसहित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इञ्जिनियर योगेश चापागाईले जानकारी दिए ।

बस्तीमा थुप्रिएको लेदो हटाइने
बुटवल वडानम्बर ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको ग्रेगरलाई प्राविधिको विशेष निगरानीमा हटाइने भएको छ । यसका लागि राष्ट्रपति चुरे संरक्षणसँग समन्वय गरिने भएको छ ।

बस्तीका धेरै घरमा क्षति पु¥याएको र लेदो, ग्रेगरसहितको ढुंगामाटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ । 

पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुंगा, माटो लगायतका सामग्री हटाउने र व्यवस्थापन गरिने भएको छ । यो कामको आवश्यक सहयोग र स्वीकृतका लागि जिल्ला विपद ब्यवस्थापन समिति रुपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ । 

चौराहा-गोलपार्क खण्ड तत्काल बनाउन माग

बुटवल–बेलहिया व्यापारिक मार्गको गोलपार्कदेखि राजमार्ग चौराहासम्मको सडकखण्ड निर्माण ढिलो भएकोमा विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ । आवागमनमा कठीनाइ भएको, धुँलो र हिलोले जोखिम बढाएकोले तत्काल आवागमन सहज हुने गरी सडक निर्माण बढाउन आग्रह गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);