बाबाको भेषमा ठगी धन्दा | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

बाबाको भेषमा ठगी धन्दा

सुर्खेत । ग्रहदशा, हात हेर्ने भन्दै पहेलो, कालो, रातो बस्त्र लगाएका आफूलाई बाबा बताउनेहरूबाट कर्णालीवासी ठगिएका छन् । कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिमका गाउँगाउँमा पुगेका उनीहरूले स्थानीयलाई ग्रहदशा हेरेर भाग्य बताउने भन्दै ठगी गरेको स्थानीयले बताएका छन् । 

बाबाहरूले हात हेर्ने र ग्रहदशा बिग्रिएको भन्दै औँठी दिएर हजारौ रुपैयाँ लिने गरेका स्थानीयले बताएका छन् । उनीहरूले विभिन्न बाहना आफूबाट २५ हजारसम्म असुलेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का एक पीडित महिलाले बताइन् । ‘उनीहरूले विभिन्न कुरा गर्दै गए । मैले पनि पैसा दिँदै गएछुँ,’ उनले भनिन्, ‘मबाट २५ हजार रुपैयाँ लगे एउटा औठीमा र रुद्धाक्षको माला मात्र दिए । म ठगिएको पछि मात्र थाहा पाएँ ।’

तन्त्रमन्त्रद्वारा विभिन्न ग्रहदशा र रोग निको पार्ने नाउँमा उनीहरूले पैसा असुल्ने गरेको दैलेखका आठबिस नगरपालिका–८ का हिमबहादुर शाहीले बताए । ‘विभिन्न पहिरनमा बाबा आउन थालेका छन्,’ उनले भने, ‘यिनीहरूले विभिन्न बाहनामा पैसा असुल्ने गरेका छन् । विशेष गरेर उनीहरूको निसाना धर्मकर्ममा विश्वास गर्ने महिला, पुरुषहरू ठगिएका छन् ।’

उनीहरू दिउँसभरी ग्रहदशा हेर्ने बाहनामा पैसा ठग्ने र राति मदिरा सेवन गर्नेगरेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का मालती विकले बताइन् ।‘सुर्खेत बजारभरी बाबाहरू छयापछयाप्ती आएका छन् । पैसा नदिएसम्म उनीहरूले छोड्दैनन्,’ उनले भनिन्, ‘जोगीको भेषमा उनीहरूले अवैधभन्दा पनि चलाएको हुनसक्छ । दिउँसो पैसा उठाएर राति मदिरा पिउने गरेका छन् ।’

दशैंतिहार आउँदै गरेका कारणले धर्मका नाममा ठग्नका लागि नक्कली बाबा बनेर ठगी गर्ने समूह सक्रिय भएको सल्यान बागाचौर नगरपालिका खिमबहादुर पुनले बताए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार बाबाहरूको बिगबिगी बढेको आफूहरूले थाहा पाएको, तर ठगी गरेको कसैबाट गुनासो नआएको जानकारी दिएको छ । 

Leave a Reply