ब्रिटिशका रक्षा मन्त्रीद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, १६ कार्तिक । १५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए। उनले राजीनामाको कारण त खुलाएनन्, तर आफ्नो व्यवहार मर्यादित नभएको स्वीकारे।

फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो। तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो।

उनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए। आफ्नो पत्रमा उनले भने, “हालैका दिनहरुमा सांसदहरु र मेरो विगतको व्यवहारका बारेमा पनि थुप्रै आरोपहरु लागेका छन्। ती धेरै जसो गलत छन्। तर म के स्वीकार्छु भने मैले नेतृत्व गरिरहेको सशस्त्र सेनाका लागि आवश्यक उच्च मापदण्ड भन्दा म तल गिरेको छु।”

उनले गएको साढे तीन वर्षसम्म ब्रिटेनको रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लाग‌ि गौरवको विषय भएको पनि बताए। प्रधानमन्त्री मेले फालनले आफु विरुद्ध लागेका आरोपहरुलाई गम्भीर रुपमा लिंदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छिन्।

पत्रकार जुलिया हार्ले ब्रुअरले त्यो पुरानो घटना भएको र उनले आफुलाई पीडित नठानेको बताइन्। फालनले त्यसैबेला आफुले ब्रुअरसंग क्षमा मागेको बताएका थिए। हालैका दिनहरुमा सत्तारुढ कन्जरभेटिभ पार्टीका कैयौं सांसदहरुमाथि आफ्नै महिला सहकर्मीहरु विरुद्ध यौनजन्य दुर्व्यहार गरेको आरोपहरु लागेका छन्। प्रधानमन्त्री मेले त्यस्तो व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने र पीडितहरु प्रहरीकहाँ जानु पर्ने बताएकी थिइन्। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);