किसान श्रेष्ठ भन्छन्- एमालेका लागि गण्डकीमा म एक्लै काफी छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

किसान श्रेष्ठ भन्छन्- एमालेका लागि गण्डकीमा म एक्लै काफी छु

पोखरा । एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए ।

किसान अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरे ।

‘१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन । कसरी बलियो हुन्छ ? स्थानीय र प्रदेश चुनावमा कसैले टिकट पाएनन्, अनि कसरी हुन्छ बलियो ?,’ उनले भने, ‘अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर । यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ ।’

सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ । उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए । ‘केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो । त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,’ उनी भन्छन्, ‘आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन् । आजदेखि समाजवादीले बिगुल फुक्यो ।’

आफू बीसौं वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए । ‘बीसौं वर्ष उता लागें । दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,’ श्रेष्ठ भन्छन्, ‘असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो । त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । संविधानको पक्षमा उभिएँ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);