सभामुखले एमाले सचेतकलाई भेट दिएनन्, टेलिफोनबाटै सभामुखलाई सन्देश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभामुखले एमाले सचेतकलाई भेट दिएनन्, टेलिफोनबाटै सभामुखलाई सन्देश

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे । तर, सभामुख सापकोटाले जवाफमा भने, ‘आज म सिंहदरबार आउँदिनँ, उतै बैठकमा आउनुहोला, त्यहीँ छलफल गरौँला ।’ त्यसपछि सभामुख सापकोटा र एमाले प्रमुख सचेतक भट्टराईबीच टेलिफोन संवादमा थप कुराकानी भयो ।

सभामुख सापकोटाले सिंहदरबार नै नआउने जनाएपछि फेरि भट्टराईले थप कुरा प्रस्ट हुन टेलिफोनबाटै सोधे, ‘कतिवटा दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको छ ?’ सभामुख सापकोटाले भने, ‘संसदमा रहेका सबै १० दललाई बैठकमा बोलाएको छु ।’

‘नेकपा एकीकृत समाजवादी पनि बैठकमा आउँछन् ?’ भट्टराईको प्रश्न थियो ।

‘उहाँहरूसहित १० दल बैठकमा आउने हो, तपाईहरू पनि आउनुहोला ।’

जवाफमा भट्टराईले भने, ‘जुन पार्टी र सांसदको संवैधानिक मान्यतामा प्रश्न उठाएर हामीले निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छौँ, त्यो बैठकमा एमाले कसरी आउन सक्छ ?’

जवाफमा सापकोटाले भने, ‘त्यही समस्या समाधान गर्न बैठकमा आउन अनुरोध गरिएको हो, सबैसँग राय लिन बैठक बोलाइएको हो ।’

भट्टराईले अगाडि भने, ‘जुन पार्टी र उनका सांसदको पदमाथि संवैधानिक प्रश्न उठाएर एमालेले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ, त्यो पार्टी उपस्थित बैठकमा कसरी एमाले आउन सक्छ ? उहाँहरू पनि उपस्थित हुने भए एमाले बैठकमा आउँदैन ।’

भट्टराईले बैठकमा एमालेको उपस्थिति नहुने जनाएपछि सभामुख सापकोटाले फेरि भने, ‘निर्वाचन आयोगले मान्यता दिएको पार्टीलाई बैठकमा त बोलाउनु नै पर्छ, त्यो त मेरो धर्म नै हो ।’

‘निर्वाचन आयोगले मान्यता दिएको होइन, तपाईंले पदीय मर्यादाविपरीत कार्य गरेकाले यो अवस्था आएको हो, त्यसैले एमाले बैठकमा आउनका लागि दुईवटा सर्त छन्– पहिला एमालेले पदमुक्तको सिफारिस गरेको सूचना टाँस गर्नुप¥यो, दोस्रो, पदीय जिम्मेवारीभन्दा बाहिर गएर काम गरेकाले तपाईंले मार्गप्रशस्त गरिदिनुप–यो भन्ने एमाले अडान छ ।’

भट्टराईले सापकोटालाई एमाले धारणा सुनाए पनि उनले भने बैठकमा उपस्थित हुन आग्रह गरिरहे ।

‘त्यही सन्देश सुनाउन मैले सिंहदरबारमा भेट गर्न खोजेको थिएँ, तपाई नै सिंहदरबार नआउने भएपछि मैले एमालेको सन्देश यहीँबाट सुनाइदिएँ, अब तपाईं आफै निर्णय गर्नुहोस् ।’
एमालेको टेलिफोन सन्देशपछि सभामुख सापकोटाले कुनै जवाफ दिएनन् र अन्तिममा भने – छलफल गरौंला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);