काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
मंगलबार ओमानको मस्कटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।
नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए ।
पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए । नोसाइना पोकनाले एक विकेट लिए ।
नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे ।
यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए ।
नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको थियो ।
पीएनजीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए ।
पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए ।