सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

उदयपुर । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका–८ लाहुरे खोँचमा कटान गरेको हो ।

कटानले बेलका– २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका–६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले ६ सय मिटर कटान गरिसकेको छ, भने दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा बाढी बस्तीमा पस्न सक्ने बेलकाका मेयर दुर्गाकुमार थापाले बताए ।

कटानले बराहक्षेत्र–६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका–३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय गिरिराज विश्वकर्माले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।

नदी कटान हेरेर फर्के गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन् ।

गृहमन्त्री खाँण पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत तथा गृहसचिव टेकनारायण पाण्डेसहितको टोली लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत उदयपुर पुगेका थिए ।

सो क्रममा उनले सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए । खाँणले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री खाँणसँग स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । मन्त्री खाँणले बस्तीको हवाइ निरीक्षण पनि गरेका थिए । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);