बिनोद आचार्य,
सुनसरी । इटहरी उपमहानगरपालिकाले तीन वर्ष पहिला उपमहानगरको ९ नम्बर वडामा रहेको डिभिएम स्कुलको ‘ग्राउण्ड’ लाई ‘जनता क्रिकेट पार्क’ बनाउने भने पनि अहिलेसम्म काम प्रारम्भ गर्न सकेको छैन् ।
उपमहानगरले पार्कलाई पहिलो प्राथमिकता र क्रिकेटलाई दोश्रो प्राथमिकतामा राखेपछि उनिहरु स्थानिय खेलप्रेमी रुष्ट भएका छन् । उपमहानगरका मेयर द्वारिकलाल चौधरीले यसलाई पार्क मात्रै बनाउने भनेपछि सर्वत्र विरोध भएको थियो ।
त्यसपछि त्यहाँ क्रिकेट पनि थपिएको हो । तर, तीन वर्षतिसक्दा पनि क्रिकेटको आधारभूत पूर्वाधार नै निर्माण नगर्नाले समस्या सिर्जना भएको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रिय सदस्य शैलेस विष्टले बताएका । ‘७ औँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका सम्पूण खेल भएको र रारिष्ट्रय स्तरबाट ध्यानाकर्षण भएको खेलमैदान बनाउने काममा उपमहानगरले ढिलाई गर्नु दुखद कुरा हो ।’, उनले भने ।
यो खेलमैदान भएको जग्गा ऐलानी भए पनि डिभिएम स्कुलले गैरकानुनी रुपमा प्रयोग गर्दै आएको थियो । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि यसको भ्रमण गरेका थिए । यहाँ क्रिकेट मैदान उपयुक्त हुने उनले भ्रमणताका प्रतिक्रिया दिएका थिए ।
यता उपमहानगरले भने त्यहाँ पार्क बनाउने सवालमा कसरत गरिरहेको बताएको छ । तर, क्रिकेट भने आफ्नो दोश्रो प्राथमिकतामा रहेको मेयर चौधरीले बताए । ‘जग्गाका सम्बन्धमा जिल्ला अदालत सुनसरीमा परेको मुद्दा र लागतका कारण पार्क बनाउने काम पर धकेलिएको हो ।’, उनले भने ।
यसको लागत करिब १५ करोड हुने डिपिआरमा उल्लेख छ । अबको दुई वर्षमा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मेयर चौधरी बताउँछन् । तर, उनको कार्याकाल एक वर्ष भन्दा कम मात्रै बाँकि रहेकाले यो खेलमैदान बन्ला भन्ने आशनै मरेको स्थानिय बताउँछन् ।